मनोरञ्जन

पशुपति शर्माको गीतको बिषयमा अमेरिकी नागरिक आना स्टिरको चासो !

By थाहा अनलाइन

February 19, 2019

लोकदोहोरी गायक पशुपति शर्माको गीत चर्चामा आइरहंदा लोकदोहोरीमा विद्यावारिधी गरेकी अमेरिकी नागरिक आना स्टिरले पनि यस बिषयलाइ कडा रुपमा लिएकी छिन् । उनको पहिलो प्रश्न थियो ‘गीत कसरी क्रान्तिकारी बन्छ?’

सामाजिक एवं राजनीतिक बेथितीमाथि व्यंग्य गरिएको यो गीत सत्तारूढ नेकपा नेता र समर्थकहरूले युट्युबबाट हटाउन दबाब दिएपछि चर्चा चुलिएको थियो । गीतमा सधैं सुन्दै आएका सामाजिक सञ्जालहरूमा लेख्दै आएका समाचारमा पढ्दै आएका कुराहरु समाबेश गरिएको थियो । समाजमा पहिल्यैदेखि भनिँदै आएको कुरा गीतका रूपमा बज्दा कोकोहोलो मच्चिनु स्वाभाविक भएको आनाको भनाइ छ।

उनि भन्छिन ‘ मुखले यसै भन्ने कुरालाई गीतमार्फत भन्नसक्नुनै गीतको शक्ति हो।’ अमेरिकाको युनिभर्सिटी अफ हवाईमा उपप्राध्यापक रहेकी आना सन् २००० मा ‘स्टडी अब्रोड प्रोग्राम’ अन्तर्गत नेपाल आएकी उनलाई यहाँको लोकदोहोरी मन परेपछि उनले नेपाली भाषा र संगीत सिकेकी थिन ।

लोक दोहोरीकै विषयमा अनुसन्धान गरेर आनाले किताब लेखेकी छन्, ‘सिगिंङ एक्रोस डिभाइडस्ः म्युजिक एन्ड इन्टिमिटेड पोलिटिक्स इन नेपाल’।

आनाका अनुसार नेपाली गीतहरु बढी शब्दमा केन्द्रित छन्। त्यसपछि नृत्य। संगीतलाई कम प्राथमिकतामा दिइएको छ। ‘नेपालमा गीतलाई साहित्यका रूपमा पढिन्छ। गीतका शब्द केलाउँदै साहित्यका रूपमा पढ्नु ठिकै हो। हामीले के कुरामा ध्यान दिनुपर्छ भने गीत भनेको प्रस्तुति पनि हो।’ आनाले गायक शर्मालाई उद्धृत गर्दै भनिन्, ‘गीत राम्रो बनाउने धुनमा कलाकारहरू चुक्ने गर्छन्। दुःखको कुरा त आफू चुकेको कलाकारले महशुसै गर्दैनन्’ ‘त्यसैले संगीतमा धेरै काम गर्न बाँकी छ,’।

नेपालमा क्रान्तिकारी गीतको सुरुआत राणाकालमै भएको र उनीहरूका विरोधी गीत विशेषगरी लोकभाका शैलीका हुन्थे। पछिल्ला कलाकारले भने जनवादी, वामपन्थी गीतमा आधुनिकता र सुगम संगीत ल्याए,’ उनले भनिन्,। यी गीत निराशावादी शैलीमा गाउन हुन्न भने मान्यता छन्। विशेषगरी त्यसमा ‘वीर’ रस पाइने त्यस्ता गीतको उदाहरण पनि दिइन्। जस्तो – ‘यो नेपाली शीर उचाली’, ‘देशले रगत मागे’, ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ आदि।

‘क्रान्तिकारी गीतमा सन्देश हुन्छन्। यी गीत सबैले बुझ्ने, पढ्ने, गुनगुनाउने र सम्झन् सक्ने खालका हुन्छन्, यही नै यी गीतका विशेषता हुन्।