रुकुमको खदीमा ‘अज्ञात’ रोग, विशेषज्ञ टोली त्यस तर्फ प्रस्थान



सैघाली खबर,
रुकुम,२ भदौ।

रुकुमको आठविसकोट नगरपालिका(३, खदीमा ‘अज्ञात’ रोग फैलिएको सूचना पाएपछि सरकारले काठमाडौंबाट विशेषज्ञ चिकित्सकसहितको टोली आज त्यसतर्फ पठाएको छ ।

एक हप्ताको अवधिमा खदी गाउँमा दुई सय भन्दा बढी स्थानीयवासी बिरामी परेका छन् । बिरामीमा टाउको दुख्ने, पेट दुख्ने, हातगोडा दुख्ने, बान्ता हुनेजस्ता लक्षण देखिएको छ । तर, रोग के हो भनेर पत्ता लागेको छैन ।

विरामीहरुको संख्या बढ्दै गएर महामारी फैलिने जोखिम बढेपछि गृहमन्त्री जनार्दन शर्माको पहलमा हेलिकोप्टरमार्फत स्वास्थ्यकर्मीहरुलाई रोग प्रभावित क्षेत्रमा पठाइएको हो । स्वास्थ्यकर्मीहरुसँगै गृहमन्त्री शर्माका स्वकीय सचिव गोपाल शर्मा पनि रुकुमको खदी गएका छन् । रुकुम गृहमन्त्री शर्माको गृहजिल्ला हो ।

आठबिसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीका अनुसार आठविसकोट नगरस्तरीय स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाइएको छ । नजिकको स्वास्थ्य चौकीमा औषधि अभाव भएकाले पनि उपचारमा समस्या परेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्