समाजवादी समाज निर्माणका लागि युवाहरुलाई अघि बढ्न आव्हान



सैघाली खबर,
काठमाडौं, ३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्डले समाजवादी समाज निर्माणका लागि युवाहरुलाई अघि बढ्न आव्हान गरेका छन् । माओवादी केन्द्र निकट योंग कम्युनिष्ट लिग ‘वाइसिएल नेपाल’ एकताको दोश्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष प्रचण्डले उत्पादन बिग्रेडका रुपमा अघि बढ्न आव्हान गरेका हुन् ।

“नेपालको संविधानले समाजवाद उन्मुख राज्यको परिकल्पना गरेको छ” अध्यक्ष प्रचण्डले भने, “युवाहरु सांगठित रुपमा उत्पादन बिग्रेडको निर्माण गरेर अघि नबढ्दासम्म यो सम्भव छैन । आउनुस, अब समृद्धिका लागि युवा फौज निर्माण गर्नुस्, उत्पादन बिग्रेड निर्माण गरेर समाजवादी क्रान्तिको दिशामा अघि हिंडम।”
अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक क्रान्ति अझै पूरा नभएको भन्दै युवाहरुलाई मूलतः तीनवटा विषयमा ध्यान केन्द्रित गर्न आव्हान गरे । “नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट प्राप्त कतिपय उपलब्धिहरु संविधानमा लेखिएका छन् । तर यी अझै संस्थागत हुन सकेका छैनन ।” अध्यक्ष प्रचण्डले भने “तर हाम्रो परिवर्तनका आन्दोलन टुंगिसकेको छैन । अब प्राप्त उपलब्धिमा टेकेर सांगठित रुपमा अघि बढ्नु जरुरी छ ।”
यथास्थितिवादी शक्तिहरुले प्राप्त उपलब्धी खोस्न ठूलो चलखेल गरिरहेको र नेपालको राजनीतिक इतिहासमा आन्दोलनपछिका उपलब्धिहरु अन्ततः यथास्थितिको चक्रव्यूहमा गएर टुंगिने प्रवृत्ति रहेको भन्दै अध्यक्ष प्रचण्डले अब युवाहरुले यो परिवर्तनलाई संस्थागत गर्न सांगठितरुपमा प्रतिरोध गर्नु आवश्यक रहेको बताए ।

अध्यक्ष प्रचण्डले सामाजिक न्यायसहितको समावेशी राज्यको परिचालन गर्न युवाहरु आर्थिक क्षेत्रमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिएका छन् । नेपालका युवाहरुले परिवर्तनका आन्दोलनमा खेलेको भूमिकाले संसारमा नै विशिष्ट उदाहरण बनेको बताउँदै अध्यक्षले अब समाजवादी समाजको निर्माणका लागि उत्पादन र समृद्धिको फौज बनेर फेरि संसारलाई देखाउन युवाहरु अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले युवाहरुलाई उद्देश्यप्रतिको निष्ठा र देशप्रतिको समर्पण हुनुपर्नेमा जोड दिएका छन् । देशलाई एकताबद्ध पार्न र साँचो अर्थमा राष्ट्रियतालाई विकास गर्न युवाहरुले अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो । “अहिले देशमा मधेसी अन्ध राष्ट्रवाद र पहाडी अतिवादी अहंकारवाद हावी रहेको छ ।

” अध्यक्ष प्रचण्डले भने, “सबै वर्ग, जाति, क्षेत्र, भाषा, लिंगलगायतको हितमा आधारित साँचो राष्ट्रिय एकताका लागि युवाहरुले विशेष अभियान चलाउनु आवश्यक छ ।” अध्यक्षले एकले अर्कोलाई निषेध गर्ने राजनीतिले नश्लवाद र जातिवादलाई नै प्रश्रय दिने र त्यो फासीवादमा रुपान्तरित हुने खतरा रहेको समेत बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्