चितवनमा डेंगु रोग देखियो



सैघाली खबर,
चितवन, ४ भदौ । स्क्रब टाइफस र स्वाइनफ्लु रोगको संक्रमण फैलिरहेको चितवन जिल्लामा डेंगु रोगसमेत देखिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार यो आर्थिक वर्ष लागेपछि जिल्लामा एक जना डेंगु रोगको बिरामी देखिएको हो । कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले २२४ जना बिरामीको परीक्षण गरिएकामा एक जनामा डेंगु लागेको पाइएको बताउनुभयो ।

कालिका नगरपालिकास्थित जुटपानीकी १७ वर्षीया एक किशोरीमा रोग देखिएको जनाइएको छ । गएको साउन २७ गते भरतपुर अस्पतालमा डेंगु पुष्टि भएको र उनलाई स्क्रब टाइफससमेत देखिएको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक केसीले बताउनुभयो ।

अहिलेसम्म जिल्लामा ३९१ जनामा गरिएको परीक्षणमा १०५ जनामा स्क्रब टाइफस रोग देखिएको छ । जसमा एक जना महिलाको मृत्यु भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवनको भरतपुर अस्पतालमा २७, रत्ननगर अस्पतालमा चार, चितवन मेडिकल कलेजमा २३, नारायणी सामुदायिक अस्पतालमा ३६ र मनकामना अस्पतालमा दुई जना स्क्रब टाइफसका बिरामी फेला परेका छन् । यस्तै अन्य १३ जना बिरामी अन्य विभिन्न निजी ल्याबमा पत्ता लागेका हुन् ।

यस्तै स्वाइनफ्लुबाट तीन महिनाको अन्तरालमा १७२ जना बिरामी भएको केसीले जानकारी दिनुभयो । स्क्रब टाइफस र डेंगुको लक्षण अत्यधिक ज्वरो आउने, टाउको दुख्नेलगायत लक्षण उस्तै भए पनि स्वाइनफ्लुमा भने रुघाखोकी देखिने चिकित्सकले बताएका छन् । स्क्रब टाइफस माइट नामको सुक्ष्म कीराले टोकेमा सर्छ भने डेंगु एडिस एजेप्टाइ नामको संक्रमित पोथी लामखुट्टेले टोकेमा सर्छ ।

जिल्लामा अहिले भाइरल ज्वरोसमेत फैलिएकाले सचेत हुन र ज्वरोसँगै लक्षण देखिनेबित्तिकै चिकित्सकको निगरानीमा जान भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारीले आग्रह गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्