सरकारले बाढी प्रभावित क्षेत्रमा ट्याङकरबाट पिउने पानी वितरण गर्ने



सैघाली खबर,
काठमाडौं, ४ –भदौ। सरकारले बाढी प्रभावित क्षेत्रमा ट्याङकरबाट पिउने पानी वितरण गर्ने तयारी गरेको छ । बाढी प्रभावित जिल्लामा ११ वटा खाली ट्याङकर पठाउने तयारी भैरहेको खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले बताउनुभयो ।

उहाँका अनुसार विभागसँगको सहकार्यमा ट्याङकर व्यवसायीले प्रभावित जिल्लामा केही दिन शुद्धिकरण गरेको पानी वितरण गर्नेछन् । बाढी प्रभावित जिल्लाका २० हजार कल र इनार प्रदूषित भएकाले अभाव नहोस् भनेर शुद्धिकरण गरिएको पानी वितरण गर्न लागिएको उहाँको भनाइ छ ।

यस्तै प्रभावित जिल्लामा पानी शुद्धिकरणको लागि ११ लाख ट्ब्लेट वितरण गरिएको र पानी शुद्धिकरण गर्ने विधि पनि सिकाउने काम भैरहेको भट्टले बताउनुभयो ।

उहाँका अनुसार प्रभावित जिल्लामा २–२ जनाले पानी शुद्धिकरण गर्न सिकाइरहेका छन् ।
बाढी जस्ता प्राकृतिक प्रकोपपछि प्रदुषित पानीका कारण झाडापखला, हैजा, टाइफाइट लगायतका रोग फैलने भएकाले पानी शुद्धिकरण गरेर मात्र पिउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

यस्तै स्थानीय संचारमाध्यमबाट स्थानीय भाषामा पनि पानी शुद्धिकरण गर्ने विधि सिकाइएको उहाँले बताउनुभयो । सबैभन्दा धेरै रौतहटमा पानीको स्रोत प्रदुषित भएको मन्त्रालयले जनाएको छ । तराईमा लाखौं मानिस खानेपानी तथा अन्य प्रयोजनका लागि कल तथा इनारमा भर पर्ने गर्छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्