उत्तर कोरिया र अमेरिकाबिचको परमाणु युद्धबाट बच्न यस्तो छ जापानको पूर्व तयारी



सैघाली खबर,
भदौ ५ ।– जापानले उत्तर कोरिया र अमेरिकाबिचको सम्भावित परमाणु युद्धलाई मध्यनजर गर्दै यसबाट बच्न पूर्वतयारी थालेको छ । जापानले परमाणु युद्धबाट कसरी बच्ने भन्ने विषयमा बालबालिकालाई तालिम दिएको छ । जापान विश्वमै एकमात्र त्यस्तो देश हो जसले परमाणु बमको मार खेप्नु परेको थियो ।
तालिमको उद्धेश्य परमाणु हमलाको स्थितिमा मानिसहरुलाई घर खाली गर्न तयार रहेको खबर रोयटर्समा उल्लेख छ । रोयटर्सका अनुसार जापानको कोट्युरा टापुमा घण्टी बज्नेबित्तिकै फुटबल खेलिरहेका बालबालिका आफ्नो परिवार र टिमका प्रशिक्षकसँग विद्यालयमा शरण लिएका थिए ।जापानी अधिकारीका अनुसार यो तालिममा १ सय ३० जनाले भाग लिएका थिए । उनीहरु हातले टाउको छोपेर बसेका थिए । परमाणु युद्धबाट बच्नका लागि गरिएको तालिममा सहभागीमध्ये केहीले आफूहरु डराएको बताएका थिए ।
जापानी प्रशासनले समाचार पत्रमा सूचना जारी गरेर मिसाइल खसेको स्थितिमा बलियो भवनको पछाडि लुक्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । उत्तर कोरियाबाट प्रहार गरिएको मिसाइल जापान पुग्न १० मिनेट मात्रै लाग्छ ।
उत्तर कोरियाले पटक–पटक अमेरिकाविरुद्ध परमाणु आक्रमणको धम्की दिइरहेको छ । उत्तर कोरिया र अमेरिकाको बिचमा युद्ध भएमा पूर्वी एसियाका अन्य देशहरुमा पनि त्यसको प्रभाव पर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्