प्रधानमन्त्री देउवा भारत भ्रमणमा जादै, ७ वटा विषयमा सहमति हुने



सैघाली खबर
काठमाडौं, ७ भाद्र

प्रधानमन्त्री शेरबहादुर देउवा आज भारत भ्रमणमा जादै हुनुहुन्छ । ४५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा अहिले बिहान ९ बजेपछि भारत प्रस्थान गर्नुहुनेछ । चारमन्त्री, नौ जना सांसद तथा विभिन्न मन्त्रालयका उच्च अधिकारी संलग्न टोलीसहित प्रधानमन्त्री पाँचदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली जान लाग्नुभएको हो । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा भारत भ्रमण गर्न लाग्नुभएका प्रधानमन्त्री देउवाले दिल्लीमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री, उच्चतहका मन्त्रीहरुसँग भेटवार्ता गर्नुहुनेछ । भेटवार्तापछि भारतसँग ७ वटा विषयमा समझदारी गर्ने तयारी छ । प्रधानमन्त्रीसँग उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पर्यटन मन्त्री जीतेन्द्र देव र वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्मा जानुहुनेछ । भ्रमण दलमा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), सङ्घीय समाजवादी फोरमलगायत पार्टीबाट नौ जना सांसदहरू सहभागी हुनुहुनेछ । भ्रमण टोलीमा प्रधानमन्त्री देउवाकी धर्मपत्नी आरजु देउवा पनि हुनुहुन्छ । त्यसैगरी परराष्ट्र मन्त्रालयबाट सचिवसहित नौ जना तथा अन्य मन्त्रालयबाट समेच उच्च अधिकारी सहभागी हुनुहुनेछ । टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. दिनेश भट्टराई, प्रेस संयोजक गोविन्द परियार तथा सचिवालयका सदस्य पनि हुनुहुनेछ । नेपाल एयरलाइन्सबाट बिहान दिल्ली प्रस्थान गर्नुहुने प्रधानमन्त्री देउवाले भोलि उच्चस्तरीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्रीका पे्रस संयोजक परियारका अनुसार प्रधानमन्त्री देउवाले भारत भ्रमणको दोस्रो दिन भारतीय राष्ट्रपति रामनाथ कोविद तथा समकक्षी नरेन्द्र मोदीसँग दुईपक्षीय वार्ता तथा सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ । भ्रमणको पहिलो दिन प्रधानमन्त्री देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरको कार्यक्रमा सहभागी हुने कार्यक्रम छ । प्रधानमन्त्री देउवासँग दोस्रो दिन भारतकी विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता गर्नुहुने कार्यक्रम छ । भ्रमणको पाँचाँै दिन ११ गते प्रधानमन्त्री देउवा दिल्ली हुँदै नेपाल एयरलायन्सको उडानबाट काठमाडौँ फर्किने कार्यक्रम छ । प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । देउवा प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जानुभएको भने चौथो पटक हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्