क्रान्तिकारीको नेतृत्व निर्वाचनबाट



सैघाली खबर
काठमाडौंँ, भदौ ९ गते । अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व चयन निर्वाचनबाट हुने भएको छ । सीमित पदका लागि आकाङ्क्षी धेरै भएका कारण निर्वाचनबाटै नेतृत्व चयनको अवस्था सिर्जना भएको छ । बुधबारबाट सुरु भएको सम्मेलनमा नेतृत्वमा सर्वसम्मत हुने सम्भावना निकै कम भएको सहभागीहरूले बताएका छन् । निर्वाचन भएमा माओवादी र यसका भातृ संस्थाभित्र यस्तो अभ्यास पहिलोपटक हुनेछ । माओवादीको अन्तरपार्टी सङ्गठनभित्र अहिलेसम्म कुनै पनि सङ्गठनमा निर्वाचनमार्फत् नेतृत्व चयन भएको छैन ।


निर्वाचन गर्न क्रान्तिकारीले यसअघि नै सङ्गठनका पूर्व अध्यक्ष रमेश मल्लको संयोजकत्वमा पूर्व अध्यक्षहरू रत्न ढकाल, सन्तोष विष्ट र विष्णु खनाल रहेको निर्वाचन समिति गठन गरिसकेको छ । ‘अहिले एक सय जनाभन्दा बढी पदाधिकारी छन् । उनीहरू सबैको आकाङ्क्षा सम्बोधन हुन गाह्रो छ,’ सम्मेलन आयोजक समितिका सदस्य दिपेश पुनले भन्नुभयो, ‘निर्वाचनमार्फत नेतृत्व निर्वाचित हुने सम्भावना बढी छ । ” सम्मेलनले एक हजारभन्दा धेरै सदस्य रहेको कमिटीलाई घटाएर सानो बनाउने बताइएको छ । सम्मेलनमा दुई हजार ७६ प्रतिनिधि सहभागी छन् ।
अध्यक्ष पदका लागि रञ्जित तामाङ, अनिल शर्मा, आरसी लामिछाने, वीरेन्द्र बस्नेत, सुरेन्द्र बस्नेत र पञ्चा सिंहले इच्छा व्यक्त गर्नुभएको छ । सङ्गठनको महासचिव पदमा कम्तीमा १२ जना आकाङ्क्षी भएको बताइएको छ । सङ्गठनभित्र उमेर हदको प्रसङ्ग पनि उठाइएको छ । यद्यपि सङ्गठनको नेतृत्वमा दाबी गरिरहेकाहरू धेरैको उमेर ३० वर्षभन्दा माथि भएकाले उमेर हद लागू हुने सम्भावना कमै देखिएको छ । सम्मेलनले ३३ पदाधिकारीसहित २४३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्