आजदेखि तीन दिनसम्म वर्षा, उच्च पहाडी भागमा हिमपातको सम्भावना



काठमान्डौ। आजदेखि उपत्यका सहित देसैभरिको मौसममा परिवर्तन आएको छ। आजदेखि बुधबारसम्म पानी पर्ने र हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विमागले पूर्वानुमान गरेको छ ।

मेडिटेरानियन सीबाट नेपाल आएको जलवाष्पयुत्त हावाका कारण सोमबार पश्चिमी क्षेत्रमा, मंगलबार देशभरी र बुधबार पूर्वी क्षेत्रमा वर्षा हुने मौसमविद गंगा नगरकोटीले रातोपाटीलाई जानकारी दिइन् । आज देशको पश्चिमी भूभागमा र अन्य पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहि बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी भेगका केही स्थान, अन्य पहाडी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ ।

यस्तै पश्चिमी उच्च पहाडी र हिमाली भेगका केहि स्थानहरुमा र मध्य र पूर्वी उच्च पहाडी र हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।निरन्तर झरी पर्ने नभई वर्षा हुने र रोकिने क्रम हुने, हावाहुरी सहित पानी पर्ने संभावना रहेको मौसमविद नगरकोटीको भनाई छ ।आज राती पनि देशको पहाडी भूभागहरुमा सामान्य देखि पूर्ण बदली रहने र पश्चिमी भेगका केहि स्थान तथा अन्य पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको विभागले जनाएको छ । भोलि पनि देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली रहि पहाडी भूभागहरूमा मेघ गर्जन सहितको छिटपुट देखि हल्का वर्षाको संभावना छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्