सरकारमाथि गुनासैगुनासा कांग्रेसका



काठमाडौ ।  प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार जनताप्रति उत्तरदायी नदेखिएको निष्कर्ष निकालेको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संघीय संसद्को तेस्रो अधिवेशनको समाप्तिको समीक्षा गर्दै सरकार विकास निर्माण, शान्ति सुरक्षा, जनताको हित र जनसरोकार जोडिएका विषयमा संवेदनशील नभएको निष्कर्ष निकालेको हो ।

सरकार जनसरोकारका विषयमा गम्भीर नभएको भन्दै कांग्रेसले खबरदारी गर्न सदनमा थप प्रभावकारी बनेर उभिने निर्णय पनि गरेको छ । ‘संघीय संसद्को तेस्रो अधिवेशनको समाप्तिसम्म आइपुग्दा सरकार संसद्प्रति उत्तरदायी देखिएन । नागरिकका सरोकारका विषयमा सरकार उत्तरदायी भएन,’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले भने, ‘सरकार जनसरोकारका विषयमा संवेदनशील नदेखिएकाले अब हामी सदनमा थप प्रभावकारी भएर प्रस्तुत हुन्छौँ । जनताको हितका कुरा उठाउँछौँ ।’

दल बैठकमा सांसदहरूले संसद्मा जनसरोकारका विषय उठे पनि बेवास्ता भएको, जीउधनको सुरक्षामा संवेदनशील नभएको, जनतामा थोपरिएको कर, मूल्यवृद्धि र महँगीको कुरा उठाउँदा पनि सरकारले सम्बोधन गर्न नचाहेकोबारे समीक्षा गरेका थिए । संसदीय दलले प्रदेश र स्थानीय तहलाई सशक्त बनाउन सरकार असफल भएको भन्दै पुरानै केन्द्रीकृत शासनलाई सरकारले पछ्याएको आरोप लगाएको छ । स्वतन्त्र सञ्चारमाध्यमलाई अंकुश लगाउने विधेयकमा असन्तुष्टि जनाउँदै र प्रधानमन्त्रीलाई निरंकुश बनाउने गरी राष्ट्रिय सुरक्षासम्बन्धी विधेयकलाई फिर्ता गर्नुपर्ने नेता खाणले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्