मुख्य समाचार

प्रचण्ड जायज हुन् भने विप्लव नाजायज होइनन्

By थाहा अनलाइन

March 26, 2019

विनोद ढकाल 

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा सम्बोधन गर्दैगर्दा सोमबार तीनथरी शक्तिप्रति आक्रोश व्यक्त गरे । लगत्तै उनको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको बैठकमा चैत महिनाभित्र विप्लव समूहलाई बल प्रयोग गरेर, जेल हालेरै भए पनि मूलधारमा ल्याउने बताएको विवरणहरू सार्वजनिक भए ।

उनले सदनमा सम्बोधन गर्दा पृथकतावादी सीके राउतलाई मूलधारमा ल्याएको सुनाए । विप्लव समूहलाई लुटेराको संकेत गरे भने पूर्वराजाको तिर्थाटनको हुलमा नरमाउन चेतावनी पनि दिए ।

शक्तिशाली प्रधानमन्त्रीका हैसियतमा ओलीको यो अभिव्यक्तिका पछाडी ठूलै तयारी पनि हुनसक्छ । तर, लोकतान्त्रिक पद्दतीमा बढी विश्वास गर्ने प्रधानमन्त्री ओलीले नेपालको ‘राजनीतिक संक्रमणकाल’को अन्त्य भइ नसकेको र स्थायी व्यवस्था कायम हुन बाँकी रहेको भन्नेचाहिँ विर्सिएका छन् ।

उनले सरकार चलाएको एक बर्ष, अर्थात् उनकै भाषामा आधार बर्षमा धेरै विषयले स्थायी आकार लिन सकेका छैनन् । प्रान्तीय सरकार, राज्यका नाम तय भइसकेका छैनन् (दुई बाहेक) भने यदाकदा केन्द्रीय सरकार र प्रादेशिक सरकारको अधिकारका क्षेत्र पनि टुंगो लागिसकेको छैन । यसकारण यो संक्रमण नसकिएकै बेला नेपाल कम्युनिस्ट पार्टी नेत्र विक्रम चन्द विप्लव समूह आक्रामक देखिएको छ । शान्ति प्रक्रियामा असन्तुष्ट बनेका तत्कालिन माओवादीका पीडित तथा प्रताडित कार्यकर्ताको एउटा पंक्ति विप्लवसँग छ ।

प्रचण्ड कसरी जायज ? राज्यसँग सम्झौता गरी मूलधारमा आउनका लागि पुष्पकमल दाहाल प्रचण्डलाई कम्तिमा सक्रिय हिंसा राजनीति गर्दैगर्दा १० बर्ष लागेको थियो । शान्ति सम्झौता पछि पनि उनको पार्टीसँग रहेको हतियार व्यवस्थापनको टुंगो लगाउन अझ केही बर्ष लाग्यो । त्यसअघि नै उनी सत्ताको वागडोरमा बसीसकेका थिए ।

त्यसबेला विप्लवहरू प्रचण्डकै माथाहतमा काम गरिरहेका थिए । प्रचण्डले दिएको हिंसा राजनीतिको ‘स्कुलिङ’ उनीहरूमा अहिले पनि कायम छ । सोही बाटो र नीतिका आधारमा नै हिंसालाई राजनीतिको प्रभावकारी आधार उनीहरूले मानेको हुनुपर्छ ।

तर सरकारले जम्मा ३५ दिनको सूचना जारी गरी भएका हतियार बुझाएर मूलधारमा आउनको लागि गरेको अपिलले उसलाई पेल्ने नियत राख्नुका साथै कुनै आपराधिक संगठन नै भएको घुमाउरो दाबी गरेको हो । प्रधानमन्त्री ओलीले त कतिपय सभा र सार्वजनिक कार्यक्रममा उक्त समूहलाई ‘लुटेरा समूह’ नै भनिदिएका रेकर्डहरू प्रशस्तै छन् ।

सत्ताको नेतृत्व गरिरहेका ओलीको दलका दोस्रो अध्यक्ष अथवा पिल्लर भनेका प्रचण्ड हुन् । उनको राजनीतिक पृष्ठभूमी र व्यक्तिगत निर्णयले मात्र हुँदै आएका कतिपय राजनीतिक कदममा असहमति राख्ने क्रममा उछिट्टिएको समूह भए पनि विप्लवलाई अराजनीतिक मात्रै मान्न सकिन्न । अहिले विप्लवले जे गरिरहेका छन्, २३ बर्ष अघि प्रचण्डको समूहले पनि त्यहि नै गरेको थियो भन्ने पृष्ठभूमीलाई नजरअन्दाज गर्नु उपयुक्त हुँदैन ।

यसकारण प्रचण्ड राजनीतिक जीवनको गतिमा जायज छन् भने विप्लवले समातेको लयलाई अहिले नै नाजायज भनिहाल्नुपर्ने अवस्था थिएन, जुन सरकारले निर्णय नै गरिसक्यो । प्रधानमन्त्री ओलीले उक्त निर्णय गलत हो, भन्ने आफ्नै दलका कतिपय नेताको टिप्पणीलाई पनि हेक्का राख्न नसक्नु, सुझाव लिन नसक्नुको परिणाम हिंसा र प्रतिहिंसाको कारक बन्न सक्ने विश्लेषकहरूको बुझाई छ ।

विप्लवहरूले बारम्बार उनीहरूको भाषामा भनिरहेका छन्,‘क्रान्तिको लक्ष्य पुरा नगरी भ्रष्टाचारमा चुर्लुम्म डुुब्ने, विचारमा स्खलन भएका कारण आन्दोलनको निरन्तरता हो ।’

वास्तवमा उक्त समूहले भनेजस्तो सत्ताको बागडोरमा पुगेपछि कहिँ न कहिँ प्रचण्डलगायतका नेता दलाल पुँजीपतिको घेराभन्दा बाहिर उम्किन नसकेको ‘ओपन सेक्रेट’ नै छ । केही विवादीत व्यापारीको उठबसका तस्बिरले त्यस शंकालाई बल पनि पुराएको थियो ।

यस्ता विषय सुधारर्नुको साटो सरकारले लिएको फरक निर्णय र बाटोले कस्तो परिणाम उत्पन्न गराउला ?

सुरक्षा सम्बन्धी विश्लेषण गर्दै आएका गेजा शर्मा वाग्लेलाई उदृत गर्दै बीबीसीले लेखेको छ,‘विप्लव राजनीतिक शक्ति हुन् र उनलाई राजनीतिको मूलधारमा ल्याउनका लागि दबाबको होइन, राजनीतिक तरिकाको आवश्यकता छ ।’ उनको भनाईलाई मान्ने हो भने सरकारी आक्रामक नीतिले हिंसा र प्रतिहिंसा बढाउन सक्ने खतरा छ ।

यसको संकेत देखियो पनि । नेकपा महासचिव विप्लवले नै एउटा विज्ञप्तिा जारी गरी सरकारलाई आफ्ना नेता कार्यकर्ता रिहा गर्नका लागि चैत महिनाभित्रको चेतावनी दिएका छन् । यो सँगै नेपाल बन्दलगायतका विभिन्न कार्यक्रमको घोषणा पनि गरेका छन् ।

त्यसो त पूर्व रक्षा सचिव वामनप्रसाद न्यौपानेले पनि विप्लवमाथि गरिएको सरकारी टिप्पणी ‘आपराधिक समूह’ भन्नु उपयुक्त नहुने धारणा सार्वजनिक गरिसकेका छन् । उनले उक्त समूह निर्वाचन आयोगमा दर्ता नभए पनि राजनीतिक संगठन रहेको उनको ठहर छ ।

ओली राजनीतिकै पृष्ठभूमी  कुनै पनि व्यवस्था मन परेन वा त्यो व्यवस्थाले जनहितका पक्षमा निर्णय गर्न सक्तैन भन्ने विचारमा एउटा विद्रोही संगठनको जन्म हुने गर्दछ । राणा शासनविरुद्ध राजा–कांग्रेस गठजोडको आन्दोलन त्यसको पृष्ठभूमी थियो । त्यसबेला र त्यसपछि पञ्चायतका कतिपय कालखण्डमा कांग्रेसले हतियार उठाएको थियो । फलतः प्रजातन्त्रको कसी बनेको उसले लामो समय सत्ता पनि चलाएको थियो ।

सोही क्रममा नेपालमा रोपिएको कम्युनिस्ट विचारका क्रममा प्रचलित झापा आन्दोलनको पृष्ठभूमीबाटै उभिएका हुन्, प्रधानमन्त्री ओली । त्यो आन्दोलन पनि हिंसाको जगमा टेकिएकै थियो । यसैकारण उनलाई तत्कालिन सत्ताले १४ बर्ष जेलमा राखेको थियो । जसका बारेमा ओलीले बारम्बार भन्ने गरेकै छन् ।

त्यसभित्र पनि विवाद र विभाजनका कतिपय विचार समूह खडा भए । ओलीहरूको निर्णय मन नपरेका कारण सीपी मैनाली जस्ता झापा आन्दोलनका मुख्य पात्रहरू राजनीतिको फरक धारमा निस्किए । राधाकृष्ण मैनालीहरूले आफ्नो बाटो रोजे । यीनै बामदेव गौतमले पनि पार्टी विभाजन गरी एउटा फरक नीतिलाई अपनाएकै थिए ।

इतिहासका पानामा आफूले रोपेको राजनीतिको रङ भन्दा फरक छैन, अहिले विप्लवको असहमति वा आन्दोलन । फरक यत्ति हो– प्रचण्डले रोपेको हिंसाको जगजगीमा उनको राजनीति चलिरहेको छ । जनताले न हिजो हिंसा चाहेका थिए न आज चाहेका छन् ।

विप्लवले हतियारको होइन, विचारको राजनीतिमा आफूलाई परिवर्तन गरे राम्रो, आत्मसमर्पणमा ल्याउँछौं भन्ने अहंकार र अतिवादी निर्णयअघि प्रचण्डको राजनीतिक पृष्ठभूमीलाई नकार्ने हिम्मत सरकारले राख्नुपर्छ ।

प्रचण्डलाई ५ दर्जन सुरक्षा घेरा दिने र विप्लवलाई घुुँडामुनि गोली ठोक्नू भन्ने आदेशको तालमेलले मुलुकलाई शान्तिको दिशातिर होइन, हिंसाको दिशातिर धकेल्ने निश्चित छ ।

यो टिप्पणीलाई हिजो जनयुद्धकालिन समयमा सहयात्रा गरेका एकजना प्रभावशाली नेता तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि मानिरहेकै छन् । उनले शान्तिपूर्ण हिसाबमा सरकारको आलोचना गरिरहेकै छन् । डा. भट्टराईलाई राजनीतिक र त्यहि समूहबाट अलग भएका विप्लवलाई अराजनीतिक भन्न कति सुहाउला ?

स्रोत dainik nepal