काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न र नाफा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताउँदै नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गरेका छन्।
राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताएका छन।।
प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कल्पना नभएर पूरा गर्न सकिने दृष्टिकोण भएको बताउँदै यसका लागि सबैको साथ आवश्यक रहेको बताएका हुन ।
उनले अब नेपालमा हिंसाको लागि कुनै स्थान नभएको बताउँदै कानुनी व्यवस्थामा खलल पुर्याउनेहरुलाई कानुन बमोजिम कारवाही गरिने बताएका छन। ।
“गाढा मैत्री तथा पारस्परिक लाभका लागि साझेदारीको विकास, यो साझेदारीबाट नेपालमा पर्याप्त लगानी प्राप्त हुने र त्यसको आकर्षक प्रतिफल लगानीकर्तालाई प्राप्त हुनेछ”, असल कार्यका निम्ति सम्मेलनमा एकत्रित भएका लगानीकर्तालाई सम्मेलनको औचित्य सुनाउँदै प्रधानमन्त्रीले भने। लगानीका लागि पचहत्तरभन्दा बढी सम्भावित परियोजना चयन गरिएको जानकारी दिँदै उनले नेपालमा उपलब्ध अवसरको भरपुर उपयोग हुनेमा आफू विश्वस्त रहेको बताए।
बुद्ध जन्मस्थल र सर्बोच्च शिखर सगरमाथाजस्ता मनमोहक हिमालपहाडको देशलाई आफ्नो दोस्रो गृहका रुपमा नेपालमा लगानी गर्न अनुरोध गर्दै प्रधानमन्त्रीले अतिथिलाई ईश्वर मान्ने नेपालमा लगानीकर्तालाई यहाँ पुँजी लगाउन उत्प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे।
नेपालले संघीय प्रणाली अंगिकार गरेको बताउँदै उनले सबै प्रदेशले समान लगानीको अवसर प्राप्त गर्नुपर्नेमा जोड पनि दिए । उनले यसका लागि हरेक प्रदेशमा कम्तिमा एउटा औद्योगिक क्षेत्र खोलिने बताए ।
४० देशका ६ सय भन्दा बढी लगानीकर्ता सहभागी रहेको सम्मेलनमा स्वदेशी र विदेशी गरि झण्डै १ हजार लगानीकर्ताहरु सहभागी भएका छन् सम्मेलनमा लगानी बोर्डले तयार पारेका उद्योग, पर्यटन, उर्जा, शिक्षा तथा शहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य लगायत क्षेत्रका ५० र नीजी क्षेत्रका २७ गरि ७७ वटा विषयगत परियोजनाहरु प्रस्तुत गरिने छ । विदेशी लगानी भित्र्याउने उद्देश्यसाथ सरकारले दुई दिने लगानी सम्मेलन गरेको हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।