फेसबुकले भारतमा निर्वाचनको संघारमा प्रमुख प्रतिपक्षी भारतीय कंग्रेसआबद्ध ६८७ फेसबुक पेज तथा एकाउन्ट हटाएको छ । विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले आफ्नो कानुन उल्लंघन गरेको भन्दै कंग्रेससम्बद्ध ती पेज हटाएको हो ।
भारतमा अप्रिल ११ गतेदेखि १९ सम्म आमनिर्वाचन हुन लागेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होच्याउने, गाली गर्ने र झुटा प्रचार गर्ने खालका सामग्री प्रेषित भएका भेटिएपछि ती पेज हटाइएको फेसबुकको दाबी छ ।
‘स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियमलाई उल्लंघन भएको निष्कर्षसहित कंग्रेस पार्टीआबद्ध पेज, ग्रुप तथा एकाउन्टलाई कम्पनीले हटाएको छ,’ फेसबुक कम्पनीले आफ्नो विज्ञप्तिमा भनेको छ ।
फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नेथेनियल ग्लेचरद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीले भारतीय भूमिबाट प्रयोग गर्दै आएका भनिएका ६८७ पेज र एकाउन्टले स्पामका लागि सहकार्य गरेको भेटेपछि तिनीहरूलाई हटाइदिएका छौँ ।’
‘यी गतिविधिमा संलग्न व्यक्तिले नक्कली एकाउन्ट खोली नियमविपरीत हुने गरी विभिन्न समूह बनाई उनीहरूको सन्दर्भ सामग्रीलाई सम्प्रेषण गरेको हाम्रो स्वचालित प्रणालीले पत्ता लगाई उनीहरूलाई खारेज गरिदिएको छ,’ विज्ञप्तिमा भनिएको छ । विश्वव्यापी रूपमा फैलिएको सामाजिक सञ्जाल फेसबुकको भारत सरकारलगायत विश्वका सरकारी अधिकारीले दुरुपयोग गरी राजनीतिक फाइदा उठाउने गरेका विवरण पछिल्लो समयमा सार्वजनिक भएका छन् ।