माओवादीलाई कम्जोर पार्न षड्यणत्र गर्ने बिरुद्ध मुद्धा हाल्छौ’ दीपशिखा



दिपक बोहरा,
तुलसीपुर १२ भदौ ।
वाइसिएल नेपालले जनयुद्धकालिन मुद्दा ब्यूँताएर माओवादीलाई कमजोर बनाउने षड्यन्त्र बिरुद्ध अदालतमा मुद्दा हाल्ने घोषणा गरेको हो । अब जनयुद्धकालिन मुद्दाहरु ब्यूँताउनेविरुद्ध कडा प्रतिवाद गर्नेसमेत वाइसिएलले चेतावनी दिएको छ ।
वाइसीएलका नवनिर्वाचित अध्यक्ष रामप्रसाद सापकोटाले शान्ति सम्झौतापछि कांग्रेस र एमालेले माओवादीलाई कमजोर बनाउन विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाए । रिपार्टस् क्लब दाङले सोमबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष सापकोटाले भने,‘शान्ति सम्झौतासँगै जनयुद्धका सबै मुद्दा सकिएका छन्, तर कांग्रेस र एमालेले एकपछि अर्को गर्दै माओवादी नेताविरुद्ध मुद्दा हाल्नथाले । यसले हाम्रो पार्टीलाई निरुत्साहित बनाएको छ, अब हामी पनि कांग्रेस र एमालेका नेतालाई छानीछानी अदालतमा मुद्दा हाल्छौं ।’ कांग्रेस र एमालेविरुद्ध मात्र नभइ तत्कालिन प्रशासक र राज्यका सुरक्षा अधिकारीविरुद्ध पनि अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको वाइसिएलले जनाएको छ ।
वाइसिएल निस्कृय हुँदा माओवादी पनि कमजोर भएको भन्दै अध्यक्ष सापकोटाले अब प्रदेश र केन्द्रको निर्वाचनमा आफ्नो संगठन सक्रिय हुने बताए । माओवादीलाई पहिलो पार्टी बनाउनका लागि सबै उपाय अपनाउने भन्दै उनले हरेक वडामा एक सय यूवा परिचालन हुने उल्लेख गरे । ‘अब वाइसिएलसँग तस्कर र भ्रष्टाचारी त्रसित हुनेछन्, वेथिती रोक्न कडा संघर्षमा उत्रदै छौं’ उनले भने,‘सुधारका लागि मान्छेलाई तर्साउनु पनि पर्दछ, हामी अब त्यही गर्नेछौं । जनताको काममा पनि लाग्नेछौं, सहयोगीको रुपमा हाम्रो संगठन अगाडि बढ्नेछ ।’ माओवादी कमजोर हुँदा परिवर्तनका उपलब्धीहरु गुम्ने खतरा बढेको वाइसिएलको दाबी छ । अब वाइसिएलको उपस्थिति सशक्त हुने समेत सापकोटाले जनाए । कार्यक्रमको सहजीकरण रिपोर्टस् क्लबका अध्यक्ष शरद रेग्मीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्