मुख्य समाचार

अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनमा निर्वाचनको तयारी

By थाहा अनलाइन

August 29, 2017

सैघाली खबर काठमाडौं,१३ भाद्र

माओवादी केन्द्रनिकट विद्यार्थीसंगठन अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनबाट निर्वाचनमार्फत नयाँ नेतृत्व चयन प्रक्रिया सुरु भएको छ । १० वर्षे सशस्त्र संघर्षसँगै २०६३ सालमा शान्तिप्रक्रियामा प्रवेश गरेको नेकपा माओवादी केन्द्र र उसका भ्रातृ संगठनको इतिहासमा पहिलोपटक नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको छ । माओवादी केन्द्रले यसअघि पार्टी, पार्टीको सहायक संगठन र भ्रातृ संगठनहरूको नेतृत्व चयन सहमतिको नाममा मनोनित गर्दै आएको थियो । माओवादी केन्द्रका एक सहायक संगठन (वाईसीएल), प्रमुख र सहायक गरी २१ भ्रातृ संगठन छन् । ती सबैमा हालसम्म सहमतिमै नेतृत्व चयन हुँदै आएका छन् । क्रान्तिकारीको यो २१औं एकता महाधिवेशन हो । ७ भदौदेखि जारी राष्ट्रिय सम्मेलनअन्तर्गत नेतृत्व चयनका लागि आज निर्वाचन हुनेछ । निर्वाचन समिति संयोजक रमेश मल्लले प्राविधिक विषय मिलाउनुपर्ने भएकाले निर्वाचन सुरु हुन समय लाग्ने बताउनुभयो । अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । जसमा रञ्जित तामाङ, अनिल शर्मा र मदन अर्याल हुनुहुन्छ ।