हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने



काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य अगाडि बढाएको मन्त्रालयका सहसचिव डा विकास देवकोटाले जानकारी दिएका छन। । हाल मन्त्रालयले हरेक प्रदेशमा कम्तीमा एक मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाएको छ ।

यसैगरी चालू आर्थिक वर्षमा एक हजार २०० वडामा स्वास्थ्य चौकी भवन, ६४० स्थानीय तहमा १५ शै्याको अस्पताल निर्माण कार्य अगाडि बढाइएको छ । ‘सङ्घीय प्रणालीमा समता र विकासका लागि अनुसन्धान’ भन्ने नाराका साथ आजदेखि यहाँ शुरु भएको पाँचौ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको शिखर सम्मेलनको पहिलो दिन सहसचिव डा देवकोटाले सङ्घीयता कार्यान्वयन गर्न स्वास्थ्य क्षेत्र अग्रणी रहेको बताए ।
‘स्वास्थ्य, उत्पादनशील, जिम्मेवार र सुखी नागरिक’ बनाउने मूल ध्येयका साथमा मन्त्रालयले नयाँ स्वास्थ्य नीतिलाई कार्यान्वयनमा ल्याएको छ । विगत २० वर्षमा नेपालले आमा तथा नवजात शिशु, सरुवा रोग नियन्त्रण, स्वास्थ्यका भौतिक पूर्वाधार निर्माणमा सुधार गरेको छ ।
सम्मेलन आयोजक संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले पछिल्लो समय नेपालमा सर्नेभन्दा नसर्ने रोगबाट बढी मृत्यु भइरहेको बताए ।

पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले स्वास्थ्य क्षेत्रमा राज्यको लगानी कम हुँदा यसको भार गरीब विपन्न जनतामा बढी परेको बताए । तीनदिने सम्मेलनमा नेपालसहित भारत, चीन, जर्मनी र अमेरिकाका स्वास्थ्य तथा जनसङ्ख्या क्षेत्रमा कार्यरत झण्डै एक हजार वैज्ञानिकको सहभागिता छ । परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले स्वास्थ्यका नयाँ नीति बनाउन सम्मेलनबाट आएका निष्कर्षले सहयोग पुग्ग्ने विश्वास व्यक्त गर्दै सम्मेलनमा ३३ कार्यपत्र प्रस्तुत गरिने जानकारी गराए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्