काठमान्डौ। इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज शनिबार सन्दिप लामिछने आवद्ध दिल्ली क्यापिटल्स र किँग्स इलाभेन पञ्जाव भिड्दैछन् । दुई टिमको खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे फिरोज साह कोटला मैदान दिल्लीमा हुनेछ ।
जारी सिजनको पहिलो खेलमा दिल्ली पञ्जावसँग १४ रनले हारेको थियो । पछिल्ला पाँच खेलको नतिजा हेर्दा दिल्लीले जम्मा एक खेल मात्रै जितेको छ भने पञ्जावले ४ खेल आफ्नो पक्षमा पारेको छ । तर दुवै टिमले जारी सिजनमा समान पाँच खेल जितेर १० अंक जोडेका छन् । नेट रनरेटका आधारमा दिल्ली अंकतालिकाको दोस्रो र पञ्जाव तेस्रो स्थानमा छन् ।
यसअघिका तीन खेलमा लगातार बेञ्चमा राखिएका सन्दिपको आज पनि खेल्ने संभावना कम छ । उनी संभावित खेलाडीको सूचीमा पनि परेका छैन । आज पनि टिमका बलरहरुमा किमो पउल, कागिसो रवाडा, अक्षर पटेल, क्रिस मोरिस नै हावी हुने देखिन्छ । त्यसैले सन्दिप आज पनि बेञ्चमै रहने बढी संभावना छ । शुरुका दुई खेल बेञ्चमा बसेका सन्दिपले त्यसपछि लगातार चार खेल खेलेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।