ओखलढुंगा । ओखलढुंगामा कुकुरले बाख्रा टोक्न थालेपछि प्रहरी परिचालन गरिएको छ । जिल्ला सदरमुकाम र आसपासका क्षेत्रमा कुकुरले मानिस र पशुचौपायामाथि आक्रमण गर्न थालेपछि कुकुर नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको हो ।
छाडा कुकुरबाट बच्न समस्या भएको भन्दै सर्वसाधारणले सुरक्षा माग गरेपछि प्रहरी परिचालन गरिएको सिद्धिचरण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले जानकारी दिए ।
जनप्रतिनिधिसहित नगरपालिकामा भएको स्थानीयको भेलाले छाडा कुकुर नियन्त्रण गर्ने जिम्मा प्रहरीलाई दिने निर्णय गरेको हो ।
कुकुरले जथाभावी मान्छे र पशुलाई टोकेर घाइते बनाउन थालेपछि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख पुष्पराज मल्लले बताए । उनले नगरपालिका, पशुविज्ञ केन्द्र र प्रहरीले हिंस्रक कुकुर पहिचान गरेर नियन्त्रण गर्ने बताए । कतै समस्या भए प्रहरीलाई खबर गर्न पनि उनले आग्रह गरे ।
एक महिनायता सदरमुकाम आसपासका क्षेत्रका हिंस्रक कुकुरले टोक्दा ५० वटा खसी–बाख्रा मरेका छन् । छाडा कुकुरको समूहले मानिस घरमा नभएका वेला खोरमा गएर बाख्रालाई आक्रमण गर्ने गरेको सिद्धिचरण–८ का कृष्ण राजभण्डारीले बताए ।
कुकुरले खसी–बाख्राको पेटमा टोकेर आन्द्राभुँडी निकालेर मार्ने गरेको छ । कुकुरले खसी–बाख्रा मारेर खान थालेपछि स्थानीय किसानले जिल्ला प्रशासन कार्यालयसहितका निकायमा ज्ञापनपत्र बुझाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।