पर्यटन

तेह्रथुममा जिल्लाकै पहिलो खोरङदेन सामुदायिक होमस्टे सञ्चालनमा,स्थानीय आर्गनिक परिकारमा झुम्दै पर्यटन

By थाहा अनलाइन

April 29, 2019

इन्द्र नेपाली, पुर्बी तेह्रथुम ।

तेह्रथुमको पुर्बी आठराई गाउँपालिकाको खाम्लालुङमा खोरङदेन सामुदायिक होमस्टे सञ्चालनमा आएको छ। पर्यटकीय दृष्टीकोेणले प्रचुर सम्भावना बोके पनि ओझेलमा रहेको यस क्षेत्रलाई नमुनास्थलको रुपमा चिनाउन जिल्लामै पहिलो पटक होमस्टेको सुरुवात भएको हो। जिल्ला सदरमुकाम देखि ६५ किलोमिटर उत्तरपुर्वमा रहेको यस स्थानमा सञ्चालन गरिएको होमस्टेको विशेषता गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्नेस्थल बनेको छ।

विशेष गरि लिम्बु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा लिम्बु जातीको साँस्कृतिक नाच तथा खाना परिकारहरु, भेषभुषा लगायत लोप हुने क्रममा रहेका संगिनी तथा बालन नाचहरु पर्यटकले देख्न पाउने खोरङदेन सामुदायिक होमस्टेकी अध्यक्ष सिर्जना लामा फोम्बोले बताउनु भएको छ।

जिल्लाको पुर्बी आठराई क्षेत्रमा अवस्थित ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर गर्दै स्थानीय जातजातीहरुको संस्कार, संस्कृती, रीतिरिवाज, भेषभुषा, खानपान आदि कुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर सम्म चिनाउने उद्देश्य होमस्टे सञ्चालकको छ।

गुणस्तरीय सेवा र आतिथ्य सत्कार गरी धेरै पर्यटक भित्र्याउने लक्ष्यले सुरु भएको यहाँको होमस्टे प्रवर्द्धनका लागी आठराई गाउँपालिका वडा नं। २ ले वार्षिक रुपमा बजेट बिनियोजन गर्ने वडाध्यक्ष दिलकुमार पाहिमले बताउनु भएको छ।

होमस्टेमा आउने पर्यटकलाई मौलिक कला, संस्कृति झल्कने झाँकी, गीत र नृत्य पनि देखाउने गरिएको छ। लिम्बु जातिको बाहुल्य रहेको खाम्लालुङमा च्याब्रुङ,पालाम, यालाङ जस्ता मौलिक संस्कृतिले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ।

यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक तान्ने उदेश्यका साथ गाउँपालिकाले समेत पर्यटन गुरुयोजना बनाई सम्भावित क्षेत्रहरुको डिपिआर तयार गर्न लागेको आठराई गाउपालिकाका अध्यक्ष बिस्नुबिक्रम लिम्बुले बताउनु भएको छ।

गाउले परिबेसमा गाउले अर्ग्यानिक परिकारमा रम्दै आलु,भटमास,मकै, मुला, कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, याङबेन९झ्याउ०किनीमा तथा स्थानीय परिकारहरुमा पर्यटक रमाउने गरेका छन्। पर्यटकीय क्षेत्रहरुको अवलोकन सँगसँगै पर्यटकहरुले लोप हुने क्रममा रहेको स्थानियको संस्कृतीहरु पनि देख्न पाउने स्थानिय नागरिकले बताएका छन।

यस क्षेत्रमा याकुम्बा गढि, झाँक्रीगुफा, मैयायक झरना, चमेरो ओढार, लिहि ढुंगा, अधेँरी खोला लयायतका पर्यटकिय क्षेत्रहरुको अवलोकन गर्न सकिन्छ भने यहाँबाट कञ्चनजंघा तथा कुम्भकर्ण लगायतका हिमश्रृङखलाहरुको पनि दृुष्यावलोकन गर्न पाइने होमस्टे व्यवस्थापन समितिले जनाएको।