मधेसमा जन लहर वटुल्दै माओवादी केन्द्र



सैघाली खबर
विरगन्ज १७ , भदौ

नेकपा माओवादी केन्द्र० को बीरगञ्जमा सम्पन्न केन्द्रीय सचिवालय बैठकले आसन्न निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय गरेको छ ।

शनिबार बीरगञ्जमा सम्पन्न बैठकले २ नम्वर प्रदेशमा माओवादी प्रतिको आकर्षण बढ्दै गएको निष्कर्ष सहित स्थानीय तह, प्रदेश र संघको निर्वाचन अभियानलाई तिब्र पार्ने निर्णय गरेको हो । बैठकले तराई—मधेशका जिल्लाहरुमा निकै ठूलो धनजनको क्षति भएको र जनजीवन कष्टकर बनेको निष्कर्ष निकाल्दै बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्लाको रुपमा घोषणा गरी राहतको विशेष प्याकेज सञ्चालन गर्न सरकारलाई आब्हान गर्ने निर्णय पनि गरेको छ ।

बैठकले राजनीतिक ध्रुवीकरणको अभियानले माओवादी केन्द्रमा नयाँ उत्साह र आत्मविश्वास बढेकाले राजनीतिक ध्रुवीकरणको अभियानमा जोड गर्ने निर्णय पनि गरेको छ । बैठकमा भर्खरै मात्र माओवादी केन्द्रमा समाहित भएका नेताहरु देवेन्द्र पौडेल, रामेश्वर राय यादव, रामचन्द्र झा र पासाङ शेर्पाले आफ्ना अनुभूति राख्दै शक्तिशाली पार्टी निर्माणका लागि मुद्धा र ध्येय मिल्ने शक्तिसँग पार्टी एकता गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकका निर्णयबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘मधेशमा बाढीबाट ठूलो धनजनको क्षति भएको छ, यसले हामीलाई निकै सम्वेदनशील बनाएको छ । तराई—मधेशका बाढी प्रभावित जिल्लाहरुलाई संकटग्रस्त जिल्ला घोषणा गरी राहत र पूनस्र्थापनाको कामलाई तिब्र पार्न सरकारसँग गम्भीर रुपमा कुरा राख्नेछौं । अहिले मधेशमा माओवादीको पक्षमा निकै ठूलो लहर देखिएको छ, हामी आवश्यकता र औचित्यका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधरहरुसँग तालमेलको नीति लिन्छौं र मूख्यः मधेशकेन्द्रित दललाई प्राथमिकता दिने निर्णय गरेका छौं । मधेशमा माओवादीलाई ठूलो सफलता मिल्नेमा हामी विश्वस्त छौं ।’

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले संविधान संशोधन विधेयक एमालेको चरम नश्लवादी सोच र राप्रपाको बिभाजनले असफल भएको भन्दै संघ र प्रदेशको निर्वाचनपछि फेरि संशोधन गर्न सकिने तर चुनावअघि सम्भव नभएको बताउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्