सैघाली खबर
काठमाडौँ, १७ भदौ
नेकपा ‘माअोवादी केन्द्र’निकट अनेरास्ववियु क्रान्तिकारीका नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले विद्यार्थी आन्दोलनलाई थप उचाइमा पु¥याइने बताउनुभएको छ ।
मतपरिणाम घोषणा गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विद्यार्थी आन्दोलन परम्परागत शैलीबाट अघि बढ्न नसक्ने भन्दै गरिव, निमुखा र उत्पडित विद्यार्थीको पक्षमा आफू उभिने बताउनुभयो ।
उहाँले सवैको सहयोगबाट संगठनलाई चुस्तदुरुस्त राख्ने भन्दै शिक्षामा देखिएको विकृति, विसङ्गति अन्त्य गर्ने आफ्नो पहिलो दायित्व हुने बताउनुभयो ।
शैक्षिक क्षेत्रमा देखिएका निजीकरण, व्यापारीकरण र माफियाकरणविरुद्ध लाग्ने उहाँले बताउनुभयो । आज सम्पन्न मतगणनामा तामाङले आफ्ना प्रतिद्वन्द्वी अनिल शर्मालाई २३ मतले हराउँदै पहिलो पटक निर्वाचन प्रक्रियाबाट अध्यक्ष चुनिनुभएको हो । तामाङले ८४५ र शर्माले ८२२ मत प्राप्त गर्नुभएको थियो ।
कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले संगठनमा पहिलो पटक निर्वाचन गराएर लोकतान्त्रिक विधि तथा प्रक्रिया अपनाइएको बताउनुभयो । उहाँले नयाँ निर्वाचित कमिटीलाई विद्यार्थी आन्दोलन थप नयाँ ढंगले अघि बढाउन आग्रह पनि गर्नुभयो ।कार्यक्रममा निर्वाचन समितिका संयोजक रमेश मल्लले विजयी उम्मेदवारको नाम घोषणा गर्नुभएको थियो ।यही भदौ ७ गतेदेखि भएको २१ औँ राष्ट्रिय सम्मेलनले २४३ जनाको नयाँ नेतृत्व चयन गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।