‘आश्वसन पाइयो धेरै,जहाज आउँछ कहिले?’



रोशनमान श्रेष्ठ

दाङ ,१८ भाद्र

दाङको तुलसीपुरमा रहेको विमानस्थल लामो समयदेखि सञ्चालनमा नआउँदा दाङवासी मर्कामा परेका छन् ।
जिल्लामा भएको विमानस्थल सञ्चालन नहुँदा छिमेकी जिल्ला पुगेर विमान प्रयोग गर्नु पर्ने बाध्यता रहदै आएको छ । विमान प्रयोग गर्न एक सय ५० किमि टाढा रहेको नेपालगन्ज र त्यतिकै दुरीमा रहेको भैरहवा पुग्नुपर्ने बाध्यता दाङवासीलाई छ ।
२०११ सालदेखि सञ्चालनमा आएको विमानस्थल पटक पटक संचालनमा आउने र अवरुद्ध हुने गरेको छ । पछिल्लो पटक २०७१ साल जेठमा यो विमानस्थल नौ महिना संचालनमा आएको थियो भने त्यसपछि विमानस्थल प्रयोगमा आएको छैन ।

कच्ची धावनमार्गको कारण देखाउदै बन्द गरिएको हवाई उडान सेवा पुनः सुचारु गर्न आठ करोड ८७ लाख रुपैयाँ खर्च गरेर सात सय ६० मिटर लामो कालोपत्रे धावनमार्ग निर्माण गरिएको छ । तर लगत्तै फेरी ईन्धन डिपो नभएको भन्दै एयरलायन्स कम्पनीहरुले विमान संचालनमा आनाकानी गर्दै आएका छन् ।
विमानस्थल संचालनको शुरुमा दैनिक दर्जनौ उडान हुने गरेको यो विमानस्थलको वर्तमान अवस्था देख्दा खिन्नता लाग्ने विमानस्थलमा कार्यरत पूर्व सुरक्षाकर्मी चन्द्रा राई वताउँछिन् । ‘पहिले पहिले यो एयरपोर्टवाट रुकुम, सुर्खेत, नेपालगंज, काठमाडौं जान्थ्यो,भिडभाड हुन्थ्यो । तर अहिले यस्तो सुनसान छ’,उनले भनिन ‘दिन मै ९ फ्लाईटसम्म हुन्थ्यो । आजकल प्लेनको आवाज नसुनेको पनि धेरै भैसक्यो ।’
शुरुमा कच्ची धावन मार्गको बहानामा नेपाल वायुसेवा निगमले सेवा दिन नसक्ने भन्दै उडान सेवा बन्द गरेको थियो । त्यसपछि तारा एयर र गोमा एयरले पनि क्षणिक अवधि सेवा दिए पनि विभिन्न वाहानामा उडान सेवा बन्द गरेको वर्षौ भैसकेको छ । विमानस्थलको सुरक्षाको लागि नेपाली सेनाको एउटा टुकडी यहाँ वस्दै आएको छ ।
दाङबाट सिधा हवाई सेवा संचालनका लागि तुलसीपुर उद्योग वाणिज्य संघ, यहाँका राजनितिक दलहरुले गरेको प्रयास सफल हुन सकेको छैन । पछिल्लो समय तुलसीपुर उपमहानगर पालिकाले पनि विमानस्थल संचालनलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको छ ।
यता श्रमराज्य मन्त्री डिल्ली वहादुर चौधरीले दाङको घोराहीमा आयोजित एक कार्यक्रममा विमानस्थल सञ्चालनका लागि आफुले पहल थाल्ने वताएका छन ।
‘तत्कालका लागि सानो जहाज भएपनि संचालनमा ल्याउन पहल गर्छु’ राज्यमन्त्री चौधरीले भने, ‘ईन्धन डिपो नभएको अवस्थामा ट्यांकरवाट भएपनि ईन्धनको व्यवस्था गर्न पहल थाल्नेछु’ ।
जिल्लामा आउने प्रधानमन्त्री, मन्त्रीहरु, दलका शिर्ष नेताहरुले विमानस्थल संचालनमा पहल गर्ने भन्दै दिएका अभिव्यक्ति आश्वासनमा मात्र सीमित हुदै आएका छन् । तर दाङको तुलसीपुरमा रहेको दाङ विमानस्थलमा हवाई जहाज कहिले आउने हो रु यसको कुनै टुंगो छैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्