जाने हैन लुम्बिनी भ्रमणमा ?



सिद्धार्थ गौतमबुद्ध मात्रै होइन, लुम्बिनी क्षेत्रमा त्यसअघिका क्रकुच्छन्द र कनकमणि बुद्ध पनि जन्मिएका थिए । क्रकुच्छन्द र कनकमणि बुद्ध कपिलवस्तुको गोटिहवा र अरोराकोटमा जन्मिएका थिए । बुद्धको अस्तुधातु समेत लुम्बिनी क्षेत्रमै रहेको छ ।

रुपन्देही, कपिलवस्तु र नवलपरासी (पश्चिम) का बुद्धस्थलहरूलाई लुम्बिनी क्षेत्रमा राखेर प्रदेश सरकारले प्रवद्र्धनात्मक कार्यक्रम थालेको हो । लुम्बिनी भ्रमण वर्षको मूल समितिको अध्यक्षमा प्रदेश ५का मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् भने कार्यकारी समितिको संयोजकमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी रहेका छन् ।

प्रदेश ५ सरकारले भ्रमण वर्ष प्रचार प्रसारका लागि नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ । भ्रमण वर्षले यस क्षेत्रमा व्यवसायीलाई आकर्षित गर्ने र स्थानीय समुदायलाई पर्यटकमैत्री बनाउन सफल हुने विश्वास मूल समितिको छ ।भ्रमण वर्षको कार्यक्रम ०७६ सालको वैशाख बुद्ध पूर्णिमाका दिन शुरू भई चैत्र शुक्ल पूर्णिमाका दिन समापन हुनेछ ।

कार्यक्रमका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चार करोड १९ लाख ६० हजार बजेट विनियोजन गरेको छ । लुम्बिनी र प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पूरातात्विक महत्वका क्षेत्रको पहिचान, संरक्षण र सम्बद्र्धन गर्दै पर्यटन व्यवसायमा समेत टेवा पु¥याउने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको हो । प्रदेशको समृद्धिका लागि सरकारले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासलाई प्रमुख आधारका रूपमा योजनाबद्ध रूपले कार्यक्रम अघि बढाएको प्रचार प्रसार समितिका सदस्य अमृत गिरीले बताए । पर्यटन क्षेत्रको विकासमा लुम्बिनी भ्रमण वर्ष महत्वपूर्ण हुने प्रदेश ५ सरकारको विश्वास छ ।

भ्रमण वर्षमा मुख्यतया लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित तिलौराकोट, गोटिहवा, कुदान, निग्लिहवा, देवदह, अरौराकोट, सगरहवा, सिसहनियालगायतका क्षेत्रलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिने उपसमिति सदस्य सी. पी. खनालले जानकारी दिए । लुम्बिनी क्षेत्र तथा बुद्ध सर्किटसँग सम्बन्धित स्थानहरूको साथै नजोडिएका तर भारत हुँदै लुम्बिनी क्षेत्रमा पर्यटक भ्रमण गर्ने प्रमुख नाका बेलहियामा समेत विभिन्न कार्यक्रम गरिने उपसमिति सदस्य रुद्रहरि कुँवरले बताए ।

यस्तै, गौतमबुद्धको जीवनीसँग सम्बन्धित सडक प्रदर्शनी होटल तथा पर्यटन व्यवसायीमार्फत् सातवटै प्रदेश र भारतको कुशीनगर, बोधगया एवं लुम्बिनीको सीमा क्षेत्रमा समेत प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिने छ । भ्रमण वर्षमा मायादेवी प्रसूति मार्ग घोषणा तथा प्रसूति उत्सव, लुम्बिनी फूड फेस्टिबल, सुजाता खीर उत्सव, लुम्बिनी मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फूलमून डे उत्सव, धार्मिक यात्रा, त्रिपिटक वाचन, लुम्बिनी पिस म्याराथन लगायतका कार्यक्रम गरिने छ । २२ फागुनमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७६ लाई लुम्बिनी भ्रमण वर्षको रुपमा मनाउने निर्णय गरेको थियो ।

एक बिहान निरन्जना नदीमा स्नान गरेर सुजाताले दान गरेको खीर भोजन गरे । निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाता नामक युवतीले खीर खुवाएपछि सोही राती ज्ञान प्राप्त भएको घटनालाई उत्सवको रुपमा मनाइनेछ । 

मायादेवी प्रसुति उत्सवमहारानी मायादेवी सुत्केरी हुने बेला नजिकिदै गएपछि पहिलो सन्तानको जन्म दिन माइती जानुपर्ने त्यतिबेलाको परम्पराअनुसार उनी कपिलवस्तुको राजधानी तिलौराकोटबाट सुसारे, सेनासहित माइती देवदह प्रस्थान गरिन् । बाटोमा पर्ने मनमोहक लुम्बिनी बगैचामा विश्राम गरिन् । सोही क्रममा उनलाई बेथा लाग्यो । बगैचामा साल वृक्षको हाँगा समातेर सिद्धार्थलाई जन्म दिइन् । महारानी मायादेवीको कोखबाट बालक सिद्धार्थको जन्म भएको खबर सुनेर राजा शुद्धोधनले कपिलवस्तु राज्यमा महाउत्सव मनाउने घोषणा गरे । सोहीअनुसार लुम्बिनीमा कोलिय र शाक्य राज्यका भद्रभलाद्मीहरूको उपस्थिति भयो । कपिलवस्तु राज्यभरि सरसफाई गरियो, तुलब्यानर टाँगियो, बाजागाजा लगाउन लगाइयो, प्रत्येक घरअघि घडा राख्न लगाइयो, स्वागतद्वारहरू निर्माण भए । महारानी शिशु सिद्धार्थलाई लिएर लुम्बिनीबाट कपिलवस्तु फर्किदा हजारौं नागरिकहरू उत्सवमा सहभागी भए । त्यही महाउत्सवको झल्को दिने गरी बुद्धपूर्णिमाको अर्को दिन जेठ ५ गते प्रसुति उत्सव मनाइनेछ ।

के हो सुजाता खीर उत्सव ?

सिद्धार्थले गृहत्याग गरेपछि ६ वर्षसम्म महातपस्या गरे । धेरै गुरुको आश्रममा गएर सेवा गरे । एकपछि अर्को साधना गर्दै गए । तर अहंकारको तृप्त अर्थात दुःखको संसार समाप्त भएन । एक दिन गुरुले भने, ‘दिन–प्रतिदिन भोजन कम गर्दै जानु । जुन दिन भोजनमा एउटामात्र चामलको दाना रहन्छ, त्यो दिन ज्ञान प्राप्त हुन्छ ।’ सिद्धार्थले त्यही अनुसार गर्दै गए । छ महिनामा एउटा चामलको दानामात्र भोजन भयो । ज्ञान त प्राप्त भएन, तर शरीर पूर्णतया विनाश भयो । हड्डी र छालामात्र बाँकी रह्यो । उरुवेलको निरन्जना नदी तरेर भिक्षाटनमा जानुपर्ने थियो । नदी तर्न सकेनन्, बाटोमै ढले । हातखुट्टा फतक्क गल्यो । तब सिद्धार्थको चेतना खुल्यो, ‘मलाई यो के भयो ? भवसागर तर्ने उद्देश्यले सन्यास लिएको हुँ । तर आज यो सानो नदी पनि तर्न सकिन ?’

एक बिहान निरन्जना नदीमा स्नान गरेर सुजाताले दान गरेको खीर भोजन गरे । निराहार तपस्या बसेका गौतमबुद्ध कमजोर र जीर्ण भइसकेको अवस्थामा सुजाता नामक युवतीले खीर खुवाएपछि सोही राती ज्ञान प्राप्त भएको घटनालाई उत्सवको रुपमा मनाइनेछ ।

लुम्बिनी भ्रमण वर्षका उद्देश्यहरू

  नेपाल सरकारबाट सन् २०२० लाइ भिजिट नेपाल वर्षका रुपमा मनाउन लागिएको कार्यक्रमलाई आधार प्रशस्त गर्ने ।

 पर्यटन प्रवद्र्धन मार्फत समृद्धि हासिल गर्न टेवा पुर्याउने ।

 यस क्षेत्रको धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका स्थानहरूको पहिचान, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउने ।

 लुम्विनी आउने पर्यटकहरूको बसाई अवधि लम्ब्याउने ।

 लुम्विनी क्षेत्रलाई सिद्धार्थ, कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल तथा बौद्ध दर्शन तथा शान्तिकोे उद्गम स्थलका रुपमा ब्यापक प्रचार गर्ने ।

 लुम्विनीलाई केन्द्रमा राखेर प्रदेश नं ५ का महत्वपूर्ण पर्यटकीय गन्तब्यहरूको प्रचार–प्रसार र प्रबद्र्धन गर्ने ।

लुम्बिनी भ्रमण वर्ष कार्यक्रम २०७६ का विशेषताहरू,

१. लुम्बिनी भ्रमणवर्ष शुभारम्भ समारोह –२०७६ जेष्ठ ४ गते

२.मायादेबी प्रसुति उत्सव —२०७६ जेष्ठ ५ गते

३. लुम्बिनी फुड फेष्टिबल

४.सुजाता खीर उत्सव

५. सडक प्रदर्शनी

६.मायादेवी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन

७. मासिक फूल मून डे (पूर्णिमा) उत्सव

८. धार्मिक यात्रा र त्रिपिटिक वाचन

९. योग तथा ध्यान शिविरहरू

१०. स्थानीय उत्पादनहरूको बिक्रीकक्ष (कोसेली घर) को व्यवस्था

अपेक्षित उपलब्धी

 राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा लुम्बिनी क्षेत्रको प्रचार भई सो क्षेत्रको महत्व बढ्ने र बिकास हुने,

 राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा लुम्बिनी क्षेत्रको प्रचार भई सो क्षेत्रको महत्व बढ्ने र बिकास हुने,

 लुम्बिनी क्षेत्रमा आउने पर्यटकको संख्या र उनीहरूकोे बसाई अवधिमा वृद्धि हुने,

 लुम्बिनी क्षेत्रका स्थानीय उत्पादन तथा ब्यापार ब्यवसायमा बृद्धि हुने,

 होटेल, ट्राभल एजेन्सी, यातायात लगायतका पर्यटन ब्यवसायको प्रबद्र्धन हुने,

 रोजगारीको सिर्जना हुने,

 प्रदेश सरकार र लुम्बिनी विकास कोष बीच समन्वय र सहकार्य भई यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्