अख्तियारद्वारा दुई प्रहरीसहित भाषा अनुवादक विरुद्ध मुद्दा दर्ता



–सैघाली खबर–
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई प्रहरी जवानसहित एक भाषा अनुवादक विरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

महानगरीय दंगा नियन्त्रण प्रहरी गण, त्रिपुरेश्वर दरबन्दी भई वैदेशिक रोजगार विभाग अन्तर्गत ताहाचलस्थित काठमाडौं कार्यालयमा सुरक्षार्थ खटिएका प्रहरी जवान गणेश लोहारले साउदी अरबका लागि श्रम स्वीकृति लिइदिने भन्दै सेवाग्राहीसँग १७ हजार रुपैयाँ घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा कालिमाटीबाट खटिएको प्रहरी टोलीले २०७५ चैत्र १९ गते पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा लोहारले आफूसहित उक्त घुस प्रकरणमा श्रम स्वीकृति प्रदान गर्ने प्रयोजनका लागि माग पत्रमा रहने अरेबिक भाषालाई नेपालीमा अनुवाद गर्ने करारका कर्मचारी अजाद आलम र प्रहरी जवान विष्णुनाथ समेत संलग्न रहेको बयान दिएका थिए । उनको बयानको आधारमा आलम र नाथलाई समेत भ्रष्टाचार मुद्दामा विपक्षी बनाई मुद्दा दायर गरिएको अख्तियारले आइतबार जारी गरेका प्रेस विज्ञप्तीमा उल्लेख छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा विज्ञप्तीमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको सप्रमाण पुष्टी भएको भन्दै उनीहरु विरुद्ध जनही सत्र हजार विगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ र १ (क) बमोजिम जरिवाना र कैद दुवै संजायको माग गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्