इन्द्र नेपाली, तेह्रथुम ।
निर्माणधीन साढे ७ मेगावाटको माथिल्लो खोरुङ्गा खोला जलविद्युत आयोजनाको विद्युत अबको ४ महिनामा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।
तेह्रथुमको खोरुङ्गा खोलामा निर्माण भइरहेको आयोजनाबाट २०७६ भदौदेखि विद्युत उत्पादन हुन लागेको हो । २०७३ बाट निर्माण सुरु भएको आयोजना ८० प्रतिशत पुरा भएको प्रबन्धक तेह्रथुम पावर कम्पनीका कार्यकारी निर्देशक मोहन डाँगीले बताएका छन।
उनका अनुसार आयोजनाको बाँध, पाइप लाइन र विद्युतगृहको निर्माण तिव्र गतिमा अघि बढेको छ ।
२ वटा बाँध रहने गरी डिजाइन भएको आयोजनाको इवाखोलातर्फको काम सकिएको उनले बताए । ‘इवाखोलाको बाँध तयार भएको छ,’ उनले,‘खोरुङ्गा खोलाको बाँधमा पनि संरचना निर्माणको काम ७० प्रतिशत सकिएको छ ।
आयोजनाको ४.७ किलोमिटर लामो पाइप लाइनमध्ये ६५ प्रतिशत पूरा भएको छ । साढे ३ किलोमिटर पाइप बिछ्याउने काम सकिएको कम्पनीले जनाएको छ । अब १.२ किलोमिटर पाइप बिछ्याउन बाँकी छ ।
विद्युतगृहको संरचना निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । विद्युतगृहको निर्माण ८० प्रतिशत सकिएको डाँगीले बताए । उनले संरचना निर्माणको काम सम्पन्न गरेर विद्युतगृहमा उपकरण जडानको काम सुरु गरिने बताए । आयोजनाबाट अबको ४ महिनामा विद्युत उत्पादन गरिनेछ ।
नेपाल विद्युत प्राधिकरणसँगको विद्युत खरिद सम्झौता अनुसार २०७६ पुस १ गतेबाट व्यवसायिक विद्युत उत्पादन गर्ने तालिका थियो । तालिकाभन्दा अगावै विद्युत उत्पादन गर्ने गरी निर्माण तिव्र पारीएको कम्पनीको दाबी छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत ४.७ किलोमिटर दुरीको जिरी(खिम्ती सबस्टेशनमा जोडिनेछ । सबस्टेशनसम्म आवश्यक ३३ केभी प्रसारण लाइन कम्पनी आफैले निर्माण गर्नेछ ।
आयोजना सम्पन्न गर्न १ अर्ब ३७ करोड रुपैयाँ खर्च हुने अनुमान छ । आयोजनामा माछापुच्छ्र्रे बैंकको अगुवाईमा नेपाल बंगलादेश र जनता बैंकले ऋण लगानी गरेका छन् । आयोजनामा ७३ प्रतिशत ऋण र २७ प्रतिशत स्वपुँजी लगानी छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।