पोषण वृद्धिका लागि दम्पतीसँग छलफल



टीकापुर नगरपालिकाले कुपोषणको जोखिम कम गर्न गर्भवती महिलाका दम्पत्तीसँग छलफल शुरु गरेको छ । नगरपालिकाले गर्भजाँच गर्न आउने महिलाका श्रीमान्सँग अनिवार्य छलफल थालेको हो ।

एक हजार दिनका आमाको स्वास्थ्यमा ध्यान दिएमा बच्चा पनि कुपोषित हुनबाट बचाउन सकिने भएकाले गर्भवती महिलाका दम्पत्तीसँग छलफल थालेको नगरपालिकाको लैङ्गिक समानता तथा सामाजिक सुरक्षा उपशाखाका निरीक्षक सङ्गिता शाहले बताए।

“गर्भमा बच्चा रहेदेखि नै खानपान र रहनसहनमा ध्यान दिनुपर्छ, बच्चा र आमाको स्वास्थ्य स्याहारका लागि श्रीमान्लाई जिम्मेवार बनाउन यस्तो कार्यक्रम ल्याएका हौं” उनले भने, ‘‘समुदायमा गएर २०÷२० जोडी दम्पत्तीसँग गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, खानपान, परिवारको सहयोग, गर्भवतीका लागि आवश्यक वातावरणका बारेमा छलफल गर्छौ, कार्यक्रम निकै प्रभावकारी भएको छ ।” उक्त कार्यक्रमपछि धेरै पुरुष सचेत हुन थालेका छन् । टीकापुर–६ बेलुका श्याम नारायण चौधरीले आमा र बच्चाको स्याहारबारे धेरै ज्ञान मिलेको बताए।

दम्पत्तीसँगको छलफलमा सहभागी टीकापुर–१ का उज्ज्वल सुनारले आमा र बच्चालाई शीघ्र कुपोषणबाट बचाउन परिवारको ठूलो भूमिका हुने बताए । यो क्षेत्रका धेरै पुरुष कामको सिलसिलामा भारतमा बस्छन् । श्रीमान् नभएका महिलाका सासू र ससुरासँग पनि छलफल गर्ने योजना नगरपालिकाले बनाएको निरीक्षक शाहले बताए।

नगरपालिकाका अधिकांश वडाले शीघ्र कुपोषण व्यवस्थापनका लागि सुनौला हजार दिन कार्यक्रम समेत लागू गरेका छन् । कुपोषणको जोखिममा रहेका बालबालिकालाई तयारी खाना समेत खुवाइन्छ । नारायणपुर स्वास्थ्यचौकीका इञ्चार्ज हिमाल सारु मगरले अहिले १८ बालबालिकालाई शीघ्र कुपोषणको जोखिम देखिएकोले तयारी खाना दिइरहेको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्