पश्चिमी वायुको प्रभावले सोमबारसम्म वर्षाको सम्भावना



काठमाडौ।पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी क्षेत्र र पूर्वी पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

पश्चिमी क्षेत्रमा विकसित भएको पश्चिमी वायु, राजस्थानमा बनेको न्यून चापीय क्षेत्र र स्थानीय वायुको प्रभावले सोमबारसम्म मौसम बदली रही काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् मञ्जु बासीले बताए।

राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि आइतबार देशभरि नै सामान्यदेखि पूर्ण बदली रही देशको पूर्व र मध्यभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

सोमबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका धेरै जसो स्थानमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव ४ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३२ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी नेपालगञ्ज र धनगढीको अधिकतम तापक्रम ४१ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्