मुख्य समाचार

सञ्चालन गरि सक्नुपर्ने ७ बर्ष अघिको रक्त सञ्चार बल्ल शूरु भयो

By थाहा अनलाइन

September 04, 2017

सुशील बस्नेत दाङ,१९ भदौ राप्ती अञ्चल अस्पताल तुलसीपुर परिसरमा निर्माण गरिएको कालिकादेवी स्मृती भवनबाट रक्त सञ्चार सेवा आज सोमबारदेखि सञ्चालनमा आएको छ ।

नेपाल रेडक्रस सोसाईटीले रक्त सञ्चार सेवा सञ्चालन गरेको हो । राप्ती अञ्चल अस्पतालले रक्त सञ्चार सेवा सञ्चालनका लागि आबश्यक स्रोत ब्यबस्थापनका लागि झण्डै डेढ कठ्ठा जग्गा उपलब्ध गराएको छ । कालीकादेवि स्मृती भवन र भवनसगको करिव आधा कठ्ठा जग्गा समेत नेपाल रेडक्रसले रक्त सञ्चार सेवा सञ्चालन गर्नका लागि प्रयोग गर्ने सहमति पछि सेवा आज सोमबारदेखि शुरु भएको हो ।

आफ्नो स्वामीत्वमा रहेको जग्गा मध्येबाट डेढ कठ्ठा जग्गा रक्त सञ्चार सेवा सञ्चालनका लागि राप्ती अञ्चल अस्पताल तलसीपुरले नेपाल रेडक्रस सोसाईटी तुलसीपुरलाई दिन झण्डै ५ बर्ष अघी सहमति भएको थियो ।

जग्गा दिने र लिने सम्बन्धि दुई पक्षबीच सहमति जुट्न नसकेपछि दाता बामदेव उपाध्यायले झण्डै ६० लाख लागतमा आधुनिक भवन निर्माण गर्नुभएको थियो । उक्त भवनबाट रक्त सञ्चार सेवा सञ्चालन गर्नेगरि भवनको २ बर्ष अघि सभामुख ओन्सरी घर्तीले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गरिएपनि रक्त सञ्चार सेवा भने सञ्चालन हुन सकेको थिएन ।

लामो बिबादका कारण रक्त सञ्चार सेवा सञ्चालन पनि हुन नसक्ने र राप्ती अञ्चल अस्पतालका बिरामीहरु अन्य अस्पतालमा रगतको अभाव र शल्यक्रियाका लागि अन्य अस्पतालमा रिफर हुन बाध्य भएका थिए । बिबाद समाधान गरि रक्त सञ्चार सेवा सञ्चालनका लागि पटक पटक गरिएको पहल असफल भएपछि सबाद समहु क्षेत्रीय सचिबालय तुलसीपुरले लगातार २ महिनाको संबाद प्रक्रियाबाट सहमति जुटाउन सफल भएको छ ।

राप्ती अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष बिष्णुकुमार देवकोटा,नेपाल रेडक्रस सोसाईटी दाङका अध्यक्ष नारायण आचार्य र भवन निर्माण दाता बामदेव उपाध्याय बिच सहमति जुटे लगतै आज सोमबारदेखि कालिकादेवी स्मृती भवनबाट रक्त सञ्चार सेवा सुरु भएको हो । आज पहिलो दिनमा मात्र झण्डै ४० जनाले रक्त दान समेत गरेका रेडक्रसका अध्यक्ष नारायण आचार्यले जानकारी दिनुभयो ।