राजपाका तीन केन्द्रीय सदस्यसहितका नेता माओवादीमा प्रवेश



सैघाली खबर
काठमाडौं,२० भाद्र


राष्ट्रिय जनता पार्टी (राजपा) का तीन केन्द्रीय सदस्यसहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सोमबार पूर्वसभासद एवं राजपाका केन्द्रीय सदस्य शिबपुजन यादवको नेतृत्वमा नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा नेता यादवसहित राजपाका केन्द्रीय सदस्यहरु रामबाबू दास, रामएकवाल राय, राजपा जिल्ला उपाध्यक्ष महेन्द्र प्रसाद यादव, क्षेत्रीय सभापतिहरु अनिलकुमार सिंह, अनितादेवी यादव, विश्वमोहन सिंह लगायतका दुई दर्जन नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमध्ये अधिकांश नेता पूर्व गाबिस अध्यक्षहरु रहेका छन् ।
माओवादी केन्द्र प्रवेश गर्दै राजपाका नेताहरुले मधेशवादी दलहरुले मधेशको प्रतिनिधित्व गर्न नसक्ने, चरम व्यक्तिगत स्वार्थमा केन्द्रित भएको र माओवादी पार्टीले मात्र हिमालदेखि तराईसम्म सबैको भावना समेट्ने विश्वाससहित आफूहरु माओवादी केन्द्रमा प्रवेश गरेको बताउनु भयो ।
पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले माओवादी पार्टी मात्र सच्चा राष्ट्रवाद, राष्ट्रिय एकता र जनताको अधिकारको पक्षमा लड्ने पार्टी भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एकथरि नेताहरु मधेश र अर्कोथरि मान्छेहरु पहाडको राष्ट्रवादको कुरा गर्छन्, त्यो नक्कली राष्ट्रवाद हो । हामी हिमाल, पहाड र मधेश जोड्ने सच्चा राष्ट्रवादको पक्षमा छौं, जनताको अधिकारको पक्षमा छौं ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्