मुख्य समाचार

उम्मेदवारी दर्ताको सम्पूर्ण तयारी पूरा निर्वाचन अायोग

By थाहा अनलाइन

September 05, 2017

सैघाली खबर, काठमाण्डौ,२० भदौ।

निर्वाचन आयोगले स्थानीय तह तेस्रो चरणको निर्वाचनको उम्मेदवारी दर्ता उत्साहका साथ गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेको छ ।

आयोगका प्रमुख आयुक्त डा। अयोधिप्रसाद यादवले बुधबार स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्न सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई आह्वान गरेका हुन् ।

आयोगले बुधबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गर्न सबै राजनीतिक दलहरूलाई आह्वान गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त यादवले उम्मेदवार मनोनयन दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।

मंगलबार कान्तिपथस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी उनले उम्मेदवार मनोनयन दर्ताका लागि सबै निर्वाचन अधिकृतको कार्यालयहरूमा जनशक्ति व्यवस्थापनको काम पनि सम्पन्न भइसकेको स्पष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त यादवले ढुक्क भएर उम्मेदवारी दर्ता गर्न सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई आग्रह गरे । उनले उम्मेदवार दर्ता गराउने कार्यमा अवरोध सृजना गरे त्यस्ता अवरोध हटाउन सुरक्षाकर्मीहरूको उचित व्यवस्था गरिएको उल्लेख गरे । निर्वाचन आयोगले उम्मेदवारी दर्ता कार्यलाई सुव्यवस्थित र मर्यादित तरिकाले अगाडि बढाउन पनि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नरगराउन पनि सम्बन्धित सबै निकायलाई सचेत गराए ।

निर्वाचन आयोगले तेस्रो चरणको निर्वाचनका लागि पर्यवेक्षणका लागि ४४ वटा संस्थाका करीब २ हजार भन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमति दिएको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश नम्बर २ को निर्वाचनका लागि ३ हजार ५ सय ७८ वटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए। आयोगले मतदान कार्यका लागि सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी खटाएको छ ।

प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तहमा आगामी असोज २ गते निर्वाचन हुँदैछ ।