आजदेखि सुरु भो सोह्रश्राद्ध



सैघाली खबर
काठमाडौं,२१ भाद्र


आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ दिनसम्म गरिने सोह्रश्राद्ध आजदेखि सुरु भएको छ ।प्रतिपदादेखि १६ तिथिमध्ये जुन तिथिमा आफ्ना पिताको निधन भएको हो, सोही दिन सोह्रश्राद्ध गर्ने गरिन्छ । आश्विन कृष्ण पक्षलाई पर्व मानिएको छ । पर्व तिथिका अवसरमा गरिने श्राद्ध भएकाले यसलाई पारवन वा महालय श्राद्ध पनि भनिन्छ ।

यो पक्षमा श्राद्ध गर्नेका पितृ वर्ष दिनसम्म तृप्त हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । ठूला पर्व दशैँ, तिहार मनाउनुअघि पितृलाई श्रद्धापूर्वक सम्झना गरिने वैदिक सनातनी परम्पराअनुसार सोह्रश्राद्ध गरिने धर्मशास्त्रीविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

उनले भने, ‘सोह्रश्राद्ध पितृ तृप्तीका लागि पूण्यतम् पर्व हो, यो पक्षमा सबै पितृले आश गर्ने भएकाले सक्नेले १६ दिन, नसक्नेले आश्विन कृष्ण पञ्चमीदेखि औँसीसम्म, त्यो पनि नसक्नेले दशमीदेखि औँसीसम्म र त्यो पनि नसक्नेले पिताको मृत्यु भएको तिथिमा आस्था निष्ठापूर्वक श्रद्धा गर्नुपर्छ ।

आश्विन कृष्णपक्ष अर्थात् पितृ पक्षमा आसोचका कारण श्राद्ध गर्न नपाउनेले आश्विन शुक्ल पञ्चमीसम्म, त्यसमा पनि नहुनेले कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारे औँसीका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ ।

गाई तिहारे औंसीका दिन पनि थुनछेक हुनेले वृश्चिक राशिमा सूर्य जानुअघि अर्थात कार्तिक मसान्तभित्र जराएर सोह्रश्राद्ध गर्नुपर्छ । यो अवधिमा पनि श्राद्ध नगरे आश गरेका पितृ निराश भएर आफ्नो स्थानमा फकर्ने विभिन्न धार्मिक ग्रन्थमा वर्णन गरिएको डा गौतमले बताए ।

बाबुको तिथिमा एक दिन मात्र सोह्रश्राद्ध गर्नेले चतुर्दशी र मगान क्षेत्र परेका दिन श्राद्ध गर्नु हुँदैन । बुधबार प्रतिपदा तिथिमा श्रद्धा गरिँदैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्