प्रदेश नम्बर २ मा आज मनोनयन दर्ता



सैघाली खबर
काठमाडौं , २१ भाद्र


स्थानिय तहको तेस्रो चरणको चुनाव अन्र्तगत प्रदेश २ अन्तर्गतका आठ जिल्लाका आज मनोनयन दर्ता हुँदैछ । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा उम्मेदवारको मनोनयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आयोगले मनोनयनको अघिल्लो दिन पत्रकार सम्मेलन गरेर निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको बताएको हो ।दर्ता भएका उम्मेदवारको आज नै सूची प्रकाशन हुनेछ ।यस्तै दर्ता भएका उम्मेदवारमाथि भोलिसम्म उजुरी दिन सकिनेछ । उम्मेदवारविरुद्ध परेका उजुरीको जाँच त्यसै दिन गरिने आयोगले जनाएको हो । आयोगको कार्यतालिकाअनुसार २३ भदौमा मनोनयन परेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरिनेछ ।

सार्वजनिक भएका उम्मेदवारले नाम फिर्ता लिन चाहेमा २३ गते नै फिर्ता लिन सक्नेछन् । यस्तै २४ गते आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने त्यसै दिन नै उम्मेदवारलाई निर्वाचन चिह्न दिइने आयोगको कार्यतालिकामा उल्लेख छ । आयोगले २ असोजका दिन बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकेको छ । प्रदेश २ का आठ जिल्लामा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । सबै स्थानीय तहमा १ हजार २ सय ७१ वडा कायम भएका छन् ।

प्रदेश २ मा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् भने ३ हजार ५ सय ७८ मतदान केन्द्र र २ हजार १ सय ६६ मतदान स्थल निर्धारण गरिएको छ । स्थानीय तहको निर्वाचनमार्फत प्रमुख एवं अध्यक्ष पदमा १ सय ३६, उपप्रमुख एवं उपाध्यक्ष १ सय ३६, वडाध्यक्ष १ हजार २ सय ७१ तथा ५ हजार ८४ वडा सदस्यसहित कुल ६ हजार ६ सय २७ जनप्रतिनिधिको चयन हुनेछन् । यसअघि अन्य प्रदेशमा निर्वाचन दुई चरणमा गरी सम्पन्न भइसकेको छ भने प्रदेश नम्बर २ मा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालको माग पूरा गर्न भन्दै सरकारले निर्वाचन सारेको थियो । यसअघि ३१ वैशाख र १४ असार गरी दुई चरणमा ६ वटा प्रदेशमा निर्वाचन भइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्