११ वर्षपछि बढ्यो भिसा शुल्क



काठमाडौ।सरकारले ११ वर्षपछि विदेशीका लागि भिसा शुल्क वृद्धि गरेको छ । सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिँदै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नयाँ दस्तुरअनुसार भिसा शुल्क ३० अमेरिकी डलर पु(याइएको छ । यसअघि उनीहरूले २५ डलर तिर्दै आएका थिए । त्यस्तै ३० दिनको बहुप्रवेशी भिसाको शुल्क ४० बाट ५० तथा ९० दिनको भिसा शुल्क सयबाट एक सय २५ अमेरिकी डलर पु(याइएको छ ।

पर्यटक भिसाको म्याद थप्न विगतमा प्रतिदिन दुई डलर लाग्थ्यो । अब तीन डलर लाग्नेछ । म्याद थप अवधिका लागि बहुप्रवेशी भिसा शुल्क विगतमा २० डलर रहेकोमा २५ डलर पु-याइएको छ । भिसाको म्याद सकिएर नियमित गर्नुपर्ने अवस्थामा अब एक दिनको पाँच डलर लाग्छ ।

पहिले यो शुल्क तीन डलर थियो । भिसा शुल्क वृद्धि नभएको करिब ११ वर्ष भएकाले समसामयिक बनाइएको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले बताए । १ साउन ०६५ देखि भिसा शुल्क बढेको थिएन । गृह मन्त्रालयको प्रस्तावमा दुई साताअघिको मन्त्रिपरिषद्को बैठकले भिसा शुल्क बढाउने निर्णय गरेको हो । यो राजपत्रमा प्रकाशित भएदेखि लागू हुनेछ ।

नेपालमा अध्ययनका लागि आउने विद्यार्थीको भिसा शुल्क पनि बढेको छ । डिग्री प्रोग्रामअन्तर्गत नेपाल आउने विदेशी विद्यार्थीले भिसा लिँदा तिर्नुपर्ने शुल्क पाँच डलर बढेर ३० डलर पुगेको छ ।

अध्यापन तथा अनुसन्धान गर्न आउने विदेशी र तिनका आश्रितले यसअघि मासिक ४० डलर तिर्नुपर्नेमा अब ५० डलर तिर्नुपर्नेछ । शिक्षक आदान–प्रदान कार्यक्रमअन्तर्गत आएका विदेशीले तिर्नुपर्ने शुल्क पनि पाँच डलर पुगेर १५ डलर तिर्नुपर्ने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्