बैदेशिक रोजगार

विदेशमा मृत्यु भएका कामदारको परिवारलाई आर्थिक सहायता

By थाहा अनलाइन

May 22, 2019

काठमाडौ।सरकारले चालु आर्थिक वर्षको पहिलो १० महीनामा वैदेशिक रोजारीका क्रममा मृत्यु भएका ६२५ कामदारको परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ ।

विभिन्न कारणबाट गन्तव्य मुलुकमा मृत्युवरण गर्न पुगेका ६२५ कामदारका परिवारले बीमाबापत रु सात लाख आर्थिक सहायता प्राप्त गरेका छन् ।

सोही अवधिमा वैदेशिक रोजगारीका क्रममा अङ्गभङ्ग भएका÷बिरामी भएका २४६ लाई पनि आर्थिक सहायता उपलब्ध गराइएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । अङ्गभङ्ग तथा बिरामी भएका कामदारले अङ्गभङ्गको प्रकृतिअनुसार रु सात लाखको पाँच प्रतिशतदेखि १०० प्रतिशतसम्म प्राप्त गरेको बोर्डले जनाएको छ ।

साउनदेखि वैशाख मसान्तसम्म १९ कामदारका परिवारलाई औषधोपचार सहयोग प्रदान गरिएको छ । बोर्डले श्रम स्वीकृति लिएर गएका कामदारको परिवारका सदस्यलाई पाँच प्रकारका कडा रोग लागेमा उपचार खर्चबापत रु ५० हजार उलपब्ध गराउँदै आएको छ ।

कामदारको परिवारलाई स्वास्थ्य उपचार सहयोगसम्बन्धी मापदण्ड, २०७३ ले क्यान्सर, मिर्गौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अल्जाइमर रोगको उपचारका लागि आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सोही अवधिमा बोर्डले गन्तव्य मुलुकमा विभिन्न कारणबाट अलपत्र परेका ३९ नेपालीको उद्धार तथा मृत्यु भएका ६९ जनाको शव झिकाउन पत्राचार गरेको छ ।

६५८ शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट घर ठेगानासम्म ढुवानी गरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा जान छनोट भएका एक हजार ३७ महिलाले अभिमुखीकरण तालीम लिँदा तिरेको रकम सोधभर्ना गरिएको छ ।

त्यसैगरी बोर्डले वैदेशिक रोजगारीका क्रममा अभिभावक गुमाएका सन्ततिको अध्ययनमा समस्या नआओस् भनेर मृतक कामदारको ५२३ बालबालिकालाई छात्रवृत्ति वितरण पनि गरेको छ ।

बार्डले मृतक कामदारको सन्ततिको शैक्षिक विकासका लागि सामुदायिक विद्यालयतर्फ पूर्वप्राथमिकदेखि १२ कक्षासम्म र संस्थागत विद्यालयतर्फ नर्सरी वा सोसरहदेखि कक्षा १२ सम्मका लागि छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । आधारभूत तहमा अध्ययन गर्ने बालबालिकालाई वार्षिक रु आठ हजार र माध्यमिक तहका लागि वार्षिक रु १२ हजार छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारले प्रतिव्यक्ति रु एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म कल्याणकारी कोषमा जम्मा गर्ने गरेका छन् ।

करारअवधि दुई वर्ष भएका कामदारले रु एक हजार ५०० र दुई वर्षभन्दा बढी भएका कामदारले प्रतिव्यक्ति रु दुई हजार ५०० कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको छ । बोर्डले सोही कोषमा जम्मा भएको रकमबाट वैदेशिक रोजगारीका क्रममा मृत्यु, अङ्गभङ्ग, बिरामी भएमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै बोर्डले वैदेशिक रोजगारमूलक सीप तालीम सञ्चालनका लागि बालाजू स्कूल अफ इञ्जिनीयरिङ एण्ड टेक्नोलोजीसँग मेशिन, सटरिङ कारपेन्टर, प्लम्बर, इलेक्ट्रिसियन, स्टिल फिक्चर्सको तालीम सञ्चालन गर्ने सम्झौता गरेको छ ।