रुपन्देहीको सैनामैना नगरपालिका–१० स्थित शीतलापुर जङ्गलमा एक युवकको हत्या गरेको आरोपमा चार युवा पक्राउ परेका छन् ।
उनीहरुलाई दुई दिनको अवधिमा आफ्नै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ बस्ने २७ वर्षीय चिरञ्जीवी आर्चायको सोमबार ढुङगाले हानेर बीभत्स हत्या भएको थियो ।
पक्राउ परेका सबै कपिलवस्तुको बाणगङ्गा नगरपालिका–६ का हुन् । पक्राउ पर्नेमा ३३ वर्षीय रमेश विक, २८ वर्षीय गोपाल खनाल, २४ वर्षीय वसन्त खत्री र २० वर्षीय राजु विक रहेका छन् । पक्राउ परेकामध्ये रमेश विक हत्याको मुख्य योजनाकार रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार हत्यापछि उनलाई उनकै मोटरसाइकलमा ल्याएर जङ्गलमा फ्याँकेका थिए । मादक पदार्थ सेवन गरी झगडा गरेका उनीहरुले आर्चायसँग भएको रु १३ हजारको लोभमा हत्या गरेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
हत्या गरेर जङ्गलमा फ्याँकिएका उनको सनाखत हुन पनि धेरै समय लागेको थियो । पक्राउ परेका सबैलाई कर्तव्य ज्यान मुद्दा चलाइने बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।