काठमाडौं । पूर्व गृहराज्यमन्त्री मो.रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले आन्दोलन गर्ने चेतावनी दिएको छ । अध्यक्ष अन्सारीले विज्ञप्ति जारी गर्दै जनताका हरेक मौलिक हक अधिकार कटौती गर्दै लैजाने सरकारको निरंकुश रबैयाको भत्र्सना गरेका छन् ।
सरकारले विभिन्न समुदायका चाडपर्वको राष्ट्रिय बिदा कटौती गरेकोमा भन्दै गम्भीर आपत्ति जनाउँदै कटौती भएका बिदालाई सरकारले राष्ट्रिय विदाअनुरुप समानुपातिक विदा व्यवस्थापन गर्न माग गरेका छन् ।
उत्पीडित जनताका जायज मागहरुलाई संविधानमार्फत सुनिश्चित गर्नका लागि संविधानको संशोधन वा पुनर्लेखन अपरिहार्य रहेको अन्सारीले बताएका छन् । उनले संविधानलाई आम नेपाली जनताको अपनत्व र स्वामित्वको अनुभूति गराउन अविलम्ब संविधान संशोधन वा पुनर्लेखन गर्न सरकारसँग माग गरेका हुन् ।
यी मागहरु पूरा नभए चरणबद्ध आन्दोलन घोषणा गर्ने चेतावनी उनले दिएका छन् । आगामी १७ गते नारा जुलुससहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र भद्रकालीमा धर्ना बस्ने जानकारी दिएका छन् । सोही दिन विभिन्न जिल्ला प्रशासन कार्यालयमार्फत् पनि ज्ञापनपत्र दिने र धर्ना बस्ने जनाइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।