बैदेशिक रोजगार

मलेसियाको रोजगारी खुल्ला गर्ने विषयमा दुईपक्षीय भेटवार्ता

By थाहा अनलाइन

May 24, 2019

काठमाडौ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र त्यहाँका मानव संशाधन मन्त्री एम कुला शेघारनबीच विहीबार भेटवार्ता भएको छ । एक वर्षअघिदेखि अवरुद्ध मलेसियाको रोजगारी खुल्ला गर्ने विषयमा नेपाली राजदूत र मानव संशाधन मन्त्रीबी भेटवार्ता भएको हो ।

मलेसियाको प्रशासनिक मुख्यालय पुत्राजयमा भएको दुईपक्षीय भेटवार्तामा नेपालबाट रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सयन्त्रका विषयमा छलफल भएको र त्यसमा मलेसियाले त्यस विषयमा अर्को हप्ताको मंगलबारसम्म नेपाललाई ठोस जवाफ दिने भन्दै करीव एक हप्ता पर्खिन आग्रह गरेको बताइएको छ ।

नेपाल र मलेसियाबीच गत कार्तिक १२ गते भएको कामदार अदान प्रदान तथा फिर्ता सम्वन्धी समझदारी भए पनि त्यही जाने नेपाली कामदारहरुको स्वास्थ्य परीक्षण गर्ने मेडिकल सेन्टर र ती मेडिकल सेन्टर सञ्चालन हुने स्ट्याण्डर्ड अपरेशन प्रोसिड्युअर ९एसओपी०मा सहमती नहुँदा मलेसियामा नेपाली कामदार जान पाएका छैनन् ।

मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले मलेसियाका मानव संसाधन मन्त्रालयका अधिकारीहरुले त्यहाँको गृह मन्त्रालयसँग छलफल गरी मंगलबारसम्म समााधान दिने आश्वासन विहीबारको बैठकमा दिएको बताए । मलेसियामा आप्रवासी कामदारको विषय गृहमन्त्रालयले हेर्दै आएको छ ।

श्रम मन्त्रालयले मलेसियाको लागि स्वास्थ्य परीक्षण गर्न इच्छुक स्वास्थ्य संस्थासँग आवेदन माग गरेपनि मलेसियाबाट प्राविधिक टोली नआएका कारण छनोट गरेको छैन । गत वर्षसम्म मलेसिया जाने कामदारहरुको नेपालका ३७ वटा स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षण गर्दै आएका थिए ।