स्वास्थ्यचौकी चिकित्सकविहीन



जिल्लाको दक्षिण क्षेत्रमा पर्ने बोगटान फुड्सिल गाउँपालिकास्थित केदारअखडा प्राथमिक स्वाथ्य केन्द्रमा चिकित्सक नआएको एक वर्ष बितिसकेको छ । उक्त केन्द्रमा दरबन्दी भए पनि एक वर्षदेखि चिकित्सक नआउँदा स्थानयीवासीलाई उपचार गराउन अन्यत्र जानुपरेको छ ।

उक्त स्वास्थ्य केन्द्रमा एमबिबिएस चिकित्सक दरबन्दीे छ । चिकित्सक नहँुदा त्यहाँका बासिन्दाले सामान्य तथा जटिल रोगको उपचारका लागि सात घण्टा गाडीमा यात्रा गरी दीपायल, सिलगढी तथा जिल्लाबाहिर जानुपर्ने बाध्यता भएको स्थानीयवासी बमबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी छ तर उपचार गराउन हामीले जिल्लाबाहिर जानुपर्ने अवस्था छ, हाम्रा दुःख कस्ले बुझिदिने ।”

उक्त स्वास्थ्य केन्द्रमा एक चिकित्सकसहित अन्य १२ कर्मचारीको दरबन्दी रहेकामा हाल १० कर्मचारी कार्यरत छन् । चिकित्सक नभएपछि अन्य कर्मचारी पनि कार्यालयमा नियमित नआउने गरेको स्थानीयवासीको आरोप छ । भौगोलिक विकटताका कारण प्राथमिक स्वास्थ्य चौकीमा चिकित्सक नआउनु उनका लागि सामान्य भएका पनि हाम्रा लागि भने समस्या हँदै आएको गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विकटताका कारण चिकित्सक आउन मानेका छैनन् तर हामी ल्याउने प्रयासमा छौँ, चाँडै ल्याउनेछौँ ।” उक्त स्वास्थ्य संस्थामा चिकित्सक ल्याउनका लागि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरिरहेको गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत शङ्कर सूचीकारले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्