समाजसेवी कर्णप्रताप राणाले कैलालीको जोशीपुर गाउँपालिकालाई एक बिघा १२ कट्ठा ३० धुर जग्गा दान गर्नुभएको छ ।
गाउँपालिकाको भवन निर्माणका लागि जग्गा अभाव भएपछि राणाले सो जग्गा दान गर्नुभएको हो ।
राणाले गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीलाई मङ्गलबार जग्गा नामसारी गरेको लालपुर्जा हस्तान्तरण गर्नुभयो । टीकापुरका स्थायी बासिन्दा राणाले जानकी गाउँपालिकामा रहेको जग्गाको लालपुर्जा हस्तान्तरण गर्दै गाउँपालिकाको आफ्नै भवन बनोस् भनी दान गरेको बताउनुभयो ।
“मसँग भएको जग्गा जनताको हितका काममा प्रयोग होस् भन्ने चाहना पूरा गर्न दिएको हुँ”, दानवीर राणाले भन्नुभयो, “जग्गा अभावमा भवन निर्माण गर्न नसकेको जानकारी पाएपछि म जग्गा दिन हौसिए ।”
गाउँपालिकाका अध्यक्ष चौधरीले जग्गा उपलब्ध गराउने राणालाई धन्यवाद दिनुभयो । “गत वर्ष पनि भवन निर्माणका लागि एक करोड रकम विनियोजन गरेका थियौँ । जग्गा अभावमा बन्न सकेन । यस वर्ष जग्गाको लालपुर्जा हात लागेको छ ।
तुरुन्तै भवन निर्माण कार्य शुरु गर्छौं”, भवन अभावमा सेवा प्रवाहमा समस्या भएको बताउँदै अध्यक्ष चौधरीले भवन निर्माण भएमा सेवाग्राही, कर्मचारीलाई समेत काम गर्न सहज हुने बताउनुभयो । गाउँपालिकाको कार्यालय हाल भाडाको घरमा सञ्चालनमा छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।