राष्ट्रिय जागरण अभियान प्रभावकारी भएनः प्रकाशमान सिंह



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् ।

संघीयतासहितको संविधान जारी गरेको कांग्रेसकै संगठन संविधान अनुरुपको संरचनामा लैजान नसक्नुले हाल सञ्चालन गरिएको जागरण अभियान प्रभावकारी हुन नसकेको उनले बताएका छन् ।

सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति तथा पदाधिकारीहरुसँगको भेटघाटमा बोल्दै नेता सिंहले संविधानअनुसार पार्टीको संरचना नबनाउँदा धेरैलाई जिम्मेवारी दिन नसकिएको र पार्टी नेता९कार्यकर्ताहरुमा निराशा छाएको बताए ।

सरकारलाई खबरदारी गर्न र पार्टी सदृढ गर्न भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गत वैशाख २५ गदेदेखि देशव्यापी जागरण अभियान चलाइरहेको छ ।

उनले भने, ‘आफैंले जारी गरेको संविधान प्रभावकारी रुपमा लागू गराउनु पर्ने अवस्थामा कांग्रेस झनै आफैंभित्र अलमलिएको अवस्थामा रहनुले आम लोकतन्त्रवादीहरुमा समेत निराशा छाएको छ ।’

कांग्रेसका पूर्व महामन्त्रीसमेत रहेका नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेको बताए ।

कांग्रेसलाई बिचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको उनको भनाइ छ । उनले यसलाई गम्भीरतापूर्वक लिनु पर्ने बताए । मलुक जटिलतातर्फ अघि बढिरहेकाले कांग्रेसको भूमिका समन्वयकारी हुनुपर्नेमा कांग्रेस आफैंभित्र अलमलिनु बिडम्बना भएको उनले बताए ।

‘मुलुकमा रहेका तमाम चुनौतिहरु सामना गर्न सशक्त र प्रभावकारी भूमिका खेल्ने पार्टीको रुपमा कांग्रेस प्रस्तुत हुन नसक्नु दुःखद हो,’ उनले भने ।

पार्टीलाई सुधार्नुपर्छ भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गर्यो भनेर आफूलाई आरोप लाग्ने गरेको गुनासो उनले गरे ।

नेता सिंहले भने, ‘पार्टी कमजोर भयो, कार्यकर्तामा निराशा छायो, पार्टी बलियो र प्रभावकारी बनाउनुपर्यो, यही ढर्राले पार्टी चल्न सक्दैन, जनआकर्षण बढाउन सकिँदैन भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गर्यो भनेर आरोप लगाउनेहरु पनि छन् ।’

उनले नेपाली कांग्रेसलाई सुधार्नका लागि जस्तोसुकै चुनौति झेल्नु परेपनि पछि नपर्ने दृढता व्यक्त गरे । सशक्त मजबुत पार्टी निर्माणको अभियानमा साथ दिन पनि उनले सबैमा अपिल गरे ।

कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताउँदै उनले व्यक्तिलाई नभई पार्टी संगठनलाई केन्द्रमा राखेर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

भेटघाटमा राजधानीमा उपलब्ध जिल्ला सम्पर्क समितिका सभापतिहरु र पदाधिकारीसमेत गरी दुई दर्जन बढीको सहभागीता थियो । नेता सिंहले सम्पर्क समितिहरुको भूमिका प्रभावकारी बनाउन आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्