बुद्धिजिवीहरु माझमा कम्युनिष्ट –कम्युनिष्ट विचको भिन्नता दर्शाउदै वर्षमान पुन



सैघाली खबर
दाङ २४ , भदौ

हलमा खचाखच गरिएका बुद्धिजीवी । सबै बुद्धिजीवी माओवादीनिकट भए पनि माओवादी कता जाँदैछ भन्ने धेरैको कौतुलहता थियो । कार्यक्रमका मुख्य वक्ता थिए माओवादी केन्द्रका नेता एवं पूर्वअर्थमन्त्री बर्षमान पुन ।

पुन प्रायः हलको मनोविज्ञान बुझ्ने नेता मानिन्छन् । त्यसैले होला झण्डै आधा घण्टा लामो सम्बोधनमा पुनले पार्टीको भावी दिशा, त्यसमा पनि अझ अर्को कम्युनिष्ट पार्टी एमालेसँगको भिन्नताबारे प्रष्ट्याउने प्रयास गरे ।नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन दाङको जिल्ला सम्मेलन उद्घाटनको अवसरमा पुनले बुद्धिजीवीमाझ यस्तो धारणा राख्ने मौका पाएका हुन् ।

भिन्नता दर्शाउन माउ र अण्डाको सहारा

धेरै बुद्धिजीवीले चियापसलदेखि बहस चौतारीमा एउटा प्रश्न सोध्ने गर्छन्– एमाले र माओवादीबीच के फरक रु यही प्रश्नको जवाफ दिन अधिकांश समय खर्चेका पुनले भने– एमालेको सुधारवादी लाइन हो, हाम्रो क्रान्तिकारी । यसलाई बुझाउन उनले माउ र अण्डाको उदारहणसमेत दिए ।

‘सुधारवादमा विश्वास गर्ने साथीहरुले समाज आफै क्रमिकरुपमा परिवर्तन हुन्छ, यसमा कुनै सचेतन प्रयास जरुरी छैन भन्छन्’– एमालेको नाम नलिएरै उसँगको भिन्नता छुट्याउँदै पुनले भने– ‘तर, त्यस्तो होइन, सचेत प्रयासद्वारा समाज बदलिन्छ र आवश्यक परे बल प्रयोग पनि गर्नुपर्छ ।’ 

एउटा माउलाई अण्डा कोरल्न २२ दिन लाग्ने उदाहरण दिंदै पुनले भने– ‘सुधारवादमा विश्वास राख्ने साथीहरु भन्नुहुन्छ, शान्तिसँग माउलाई ओथारो बस्न दिए मात्रै पनि २२ दिनमा चल्ला आइहाल्छ नि, किन त्यसमा टाउको दुखाउनु¥यो तर हामी भन्छौं– होइन मेशिनमा राखेर २४ घण्टामै कुखुरा निस्कन्छ भने किन २२ दिनसम्म पर्खने, हामीले समाज परिवर्तनमा पनि यसरी नै सचेत प्रयास गर्नुपर्छ र भौतिक विज्ञानमा आएका नवीनतम प्रविधिको प्रयोग गरेर सामाजिक विज्ञानलाई अघि बढाउनुपर्छ ।’

 

दोस्रो फरक चुनावको उपयोग

माओवादीभित्र अध्ययनशील नेताको रुपमा चिनिने पुनले एमाले र माओवादीबीचको अर्को भिन्नता देखाउन चुनावको उदाहरण दिए । एमाले संसदवादी भासमा पुगेको र माओवादी अझै क्रान्तिकारी लाइनमा रहेको तर्क गर्दै पुनले भने– ‘एमाले चुनावदेखि चुनावसम्मको नीतिमा छ, हामी चुनाव उपयोगको नीतिमा छौं । हामीले जनयुद्धको तयारीका लागि २०४८ सालको चुनाव उपयोग गरेका हौं, अब पनि समाजवादी क्रान्तिका लागि चुनाव हाम्रो एउटा बलियो मोर्चा हो ।’

‘चुनावलाई हेर्ने सवालमा एमाले र हाम्रो आकाशजमीन फरक छ’– उनले भने– ‘एमाले चुनावदेखि चुनावसम्मको लाइनमा छ तर हाम्रो विचारमा संसदीय ब्यवस्थामा हुने चुनावले मात्र निकास दिदैन, चुनावलाई समाजवादी क्रान्तिकाको तयारीको मोर्चाको रुपमा उपयोग गर्नु हाम्रो कार्यनीति हो, रणनीति हाम्रो समाजवाद नै हो ।’

 

एउटा स्वीकारोक्ति– बर्ग संघर्ष कमजोर हुँदा विचार क्षेत्र पनि कमजोर

नेता पुनले जनयुद्धको बेलामा मर्ने बाँच्ने ठेगान नहुँदा पनि नेतादेखि समर्थकसम्मले अध्ययन गर्ने र वैचारिक लेख लेख्ने गरेको स्मरण गराउँदै अहिले जहाजमा हिड्ने, होटलमा बस्ने सुविधा पाउँदा पनि नेतादेखि शुभचिन्तक सबै पढ्न लेख्न बिर्सेको स्वीकार गरे ।

‘यसबाट के देखिएको छ भने बर्ग संघर्ष भुत्ते हुँदा अध्ययन पनि कमजोर हुँदो रहेछ र विचार निर्मााणको क्षेत्रमा पछाडि परिदो रहेछ’– उनले भने– ‘यसले पनि माओवादी कता जाँदैछ भन्ने धेरैको प्रश्न छ, हामी सही ठाउँमा छौं तर अब यतिले पुग्दैन, विचार निर्माणको क्षेत्रमा तपाइँ बुद्धिजीवीदेखि हामी नेतासम्मले योगदान गर्नुपर्ने बेला आएको छ ।’

शान्ति प्रक्रियापछि कांग्रेस एमालेसँग सहकार्य गर्दा बर्ग संघर्ष कमजोर भएको स्वीकार गर्दै पुनले थपे– तर पनि हामी रणनीतिक हितका लागि कार्यनैतिकरुपमा बर्ग संघर्ष केही कमजोर भए पनि सहकार्यको प्रक्रिया जारी राख्न चाहन्छौं, यो कार्यनीतिबाट रणनीतिलाई बलियो बनाउने हाम्रो अभिष्ट हो ।

अब माओवादी सशक्त निर्णायक शक्ति
माओवादीले चुनावका लागि चुनाव मात्र नभएर चुनावलाई समाजवादी क्रान्तिकारीको तयारीको मोर्चाको रुपमा लिएको उल्लेख गर्दै उनले त्यसमा बैचारिक तयारीको ठूलो महत्व रहने बताए । ‘हामी अबको चुनावपछि देशको अझ सशक्त निर्णायक शक्ति बन्दैछौं, यसको अर्थ केहीलाई सांसद वा मन्त्री बनाउने कुरा मात्र होइन’– पुनले थपे– ‘सत्ता अभ्यासमार्फत राज्यसंयन्त्रमा हस्तक्षेप बढाउँदै समाजवादी क्रान्तिको तयारी गर्नु हाम्रो मुख्य लक्ष्य भएकाले बुद्धिजीवीहरुको भूमिका विचार निर्माणमा महत्वपूर्ण हुनेछ ।’

स्थानीय निर्वाचनमा अपेक्षाकृत परिणाम नआएपछि पहिलेको भन्दा माओवादीको मत उल्लेख्य बढेको उनले भने– ‘‘विचार, एजेण्डा र त्याग हाम्रो भयो तर हाम्रै एजेण्डाअनुसार भएको चुनावमा हामीले नै किन सोचे जति परिणाम ल्याउँदैनौं रु हाम्रो मुख्य समस्या सवल संगठन नहुनु हो, अब पार्टीको पूरै ध्यान संगठन निर्माणमा केन्द्रित हुनेछ ।’

समाजवादी क्रान्तिका लागि क्रान्तिकारीलाई दक्ष र दक्षलाई क्रान्तिकारी बनाउनुपर्ने जोड दिंदै उनले यसमा बुद्धिजीवी संगठनले अगुवाइ गर्नुपर्ने बताए । ‘पूँजीपति र मजदूर बर्गको अन्तर्विरोध हल गर्ने एक मात्र ब्यवस्था समाजवाद हो, हामी अब यसको ब्यापक प्रचार र बहसमा जानुपर्छ’– उनले भने ।

साभार सिस्ने अनलाईन

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्