संयुक्त राष्ट्रसंघको संकट राहत संयोजकले सोमालियालाई तत्कालै अन्तर्राष्ट्रिय सहायता नपठाइएमा गर्मी सकिऊन्जेल २० लाखभन्दा बढी मानिस मर्न सक्ने बताएका छन् ।
राष्ट्रसंघका उपसचिव मार्क लोककले सुक्खा परेका कारण सोमालियालाई ७० करोड डलर आवश्यक रहेको बताए । वर्षा नभएकाले पशुहरू मरिरहेको र अन्नपात बर्बाद भएको छ ।
उनका अनुसार, केन्द्रीय विपत राहत कोषले सुक्खाबाट प्रभावित इथियोपिया र केन्यासँगसँगै सोमालियामा दैनिक आवश्यकताका कुरा, पानी र खानेकुराको कमी पूरा गर्नका लागि ४।५ करोड डलर छुट्ट्याइएको छ ।
सोमालियाको जनसंख्या डेढ करोड रहेकोमा ३० लाख मानिस भोजनको न्यूनतम आवश्यकता पूरा गर्नका लागि संघर्ष गरिरहेको लोककको भनाइ छ ।
खानेकुराको कमी अघिल्लो वर्षको जाडोको तुलनामा निकै खराब भएको छ । लोककले भने, ‘गरीबी र न्यूनतम आवश्यकताको कमीको संकटको सामना गरिरहेका सोमालियालीको स्थिति भयावह छ । सुक्खाका कारण भोक र गरीबी बढेको छ । मानिसहरूसँग पिउनका लागि पर्याप्त पानी समेत छैन । महामारी फैलिने डर छ ।’
सोमालिया र छिमेकी देश इथियोपिया र केन्यामा विगत केही वर्षदेखि जल संकट कायम छ । पानी नपरेकाले अन्नपात ध्वस्त भएको छ । संयुक्त राष्ट्रसंघले विश्व समुदायलाई संकटमा ध्यान दिन र सहायताका लागि कदम उठाउन आवश्यक रहेकोमा जोड दिएको छ । एजेन्सी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।