विचार

बालकले कुवा छोएको विषयमा विवाद, एक महिला घाइते

By Saru Sunar

June 07, 2019

बैतडी । ११ वर्षीय बालकले कुवा छोएको विषयमा दलितभित्रै कुटाकुट हुँदा एक जना महिला घाईते भएकी छन् । दोगडाकेदार गाउँपालिका ८ कलागाउँकी तुलसी सार्कीका ११ वर्षीय छोरा नविन सार्कीले पार्की (विश्वकर्मा) को कुवामा पानी खाएको विषयमा झगडा भएको हो । तुलसी र सीताको परिवारबीच विवाद हुँदा सीता पार्कीले हँसिया प्रहार गरेपछि तुलसी सार्की घाईते भएकी छन् । खेतमा धानको विउ छर्न गएका बेला सार्की परिवारका बालक नविनले पार्कीहरुको कुवामा पानी खाएपछि विवाद भएको हो ।

कुवा छोएको भन्दै पिटेपछि विवाद हुँदा सीता पार्कीले हँसिया प्रहार गरी घाइते बनाएको तुलसी सार्कीले बताइन् । घाईते तुलसी सार्कीले स्थानीय खोचलेक प्रहरी चौकीमा उजुरी दिएकको बताइन् । भाउजुको साथमा उजुरी दिन खोचलेक प्रहरी चौकी पुगेका घाईते तुलसी सार्कीका देवर शंकर सार्कीले गाउँमा दलितहरुको अलग–अलग कुवा रहेको बताए । सीता पार्कीका श्रीमान भरत पार्कीले पानी नखाउ नभनेको जिकिर गरे । उनले भने, ‘पानी नखाउ भनेको होईन, फोहोर नगर्नु भनेको हो । आजभोली हामी त्यो जातीले पकाएको समेत खाना खान्छौं ।

त्यस्तो केही होईन । मेरो परिवार अलि अलि धामी झाक्री पनि भएकोले कुवा फोहोर नगर्न भन्दा विवाद भएको हो’ भरत पार्कीले भने । पीडित परिवार प्रहरी चौकीमा निवेदन दिन आएको स्थानीय खोचलेक प्रहरी चौकीका ईन्चार्ज दशरथ भट्टराईले जानकारी दिए । घटना सामान्य हो । चौकीमा मिलापत्र हुन सकेन । चुरा फुटेर सामान्य चोट लागेकोले तुलसी सार्कीले अस्पताल जाने कुरा गरेपछि दुबै पक्ष अस्पताल गएको चौकी ईन्चार्ज भट्टराईले बताए । दोगडाकेदार गाउँपालिकाका सामाजसेवी भुवन कार्कीले जातीय सिहाबले नै घटना घटेको बताए । ‘दलितभित्रै होस् या गैर दलितभित्र सामाजिक रुपमा यो कलंक नै हो । दोषीलाई कारबाही हुनुपर्छ’ भुवनले भने । तस्वीरः कुवा छोएकोे विषयमा कुटपिट हुँदा घाईने भएकी तुलसी सार्की ।