सन्र्दभ ः मधेस निर्वाचन मधेस आन्दोलनका मृतक ‘ बाबु आमा भन्छन – भोटका कुरा गर्दै नगर्नुहोस ’



सैघाली खबर

रौतहट २६ , भदौ

सर्लाहीको मलङ्गवा नगरपालिकाको वडा नम्बर ४ मा रहेको मिकरानी टोलमा मेयरमा तीन उम्मेद्वार छन् भने एक उपमेयरका उम्मेद्वार छन् । यही कारण यो टोलमा चुनावको निकै ठूलो तामझाम छ । उम्मेद्वारका घरमा भीडभाड छ । गाडीको लावालस्कर देखिन्छ । जहाँत्यहीँ झण्डैझण्डा टाँगिएका छन् । तर, यही टोलमा एउटा यस्तो परिवार छ, जसलाई स्थानीय तहको चुनावसँग कुनै सरोकार छैन । यो परिवार चुनाव नजिकै आउँदा पनि असोज २ गते भोट हाल्ने वा नहाल्ने भन्नेमा अहिलेसम्म द्विविधामै छ । 

हो, हामी त्यस्तो परिवारको कुरा गरिरहेका छौँ, जसले मधेश आन्दोलनमा परिवारको सदस्य गुमायो । २०६४ को पहिलो मधेश आन्दोलनमा आफ्नो छोरा गुमाएका अब्दुल वहाब मिकरानीको परिवारलाई चुनावले छोएकै छैन । अब्दुलका छोरा आशिक अली मिकरानी मधेश आन्दोलनमा मारिँदा मात्र १६ वर्षका थिए । हामी शहीद आशिकको घरपुगेर परिचय गर्दागर्दै उनकी आमा रौशन आराको आँखाबाट आँसु रसाउन थालेका थिए । छोरा गुमाएको ११ बर्ष भयो । तर, आमा बुवाले हरेक दिन आशिकलाई सम्झेका छन् ।

 

मधेश आन्दोलनसँग जोडिएको परिवार भएकाले अब्दुलको परिवार तराई–मधेशमा हुने राजनतिक घटनाक्रम र चुनावसँग टाढा हुने कुरा भएन । त्यही कारण यो परिवारले स्थानीय तहको चुनावमा कुनै न कुनै पदमा उम्मेद्वारी दिने मन बनाएको थियो । तर, कुनै पनि दल उनको घरमा पुगेन । शहीद परिवारको चुनावबारे इच्छा जान्ने मन कसैले गरेन ।

शहीद आशिकका बुवा अब्दुलले भने, ‘पार्टीले सोधेको भए, मलङ्गवामा मेयरको उम्मेद्वारी दिने मन थियो । परिवारका सदस्य मध्ये केही न केही पदमा लड्न चाहेका थियौँ । तर, सोध्न कोही आएन ।’

यही कुरा आशिककी आमा रौशनले पनि गुनासो गरिन् । ‘चुनावको टिकटवारे कसैले केही सोधेनन् । सोधेको भए चुनाव लड्थौँ ।’

  • मधेस ग्राउण्ड जिरो

‘इपिसेन्टर’ मधेश स् दुई नम्बर प्रदेश बन्यो भिडन्तको केन्द्र

​२ नम्बर प्रदेशको स्थानीय चुनावमा यस्तो छ महिला सक्रियता ९फोटोफिचर०

उम्मेदवारलाई जनतामाथि होइन, जानकी मातामाथि विश्वास १

अहिले भुइँमा, जितेपछि कुर्सीमा ९फोटोफिचर०

‘इपिसेन्टर’ मधेश स् तनावपूर्ण आन्दोलन भएको मधेशमा कस्तो छ चुनावी सुरक्षा रु

‘इपिसेन्टर’ मधेश स् चियापसलदेखि रक्सी भट्टीसम्म चुनावकै बहस

जनकपुरमा यस्तो छ साहुबीचको ‘महाटक्कर’

भारतीय गाडीमा झण्डा फहराउँदै यसरी भइरहेछ प्रचारप्रसार ९फोटोफिचर०

‘इपिसेन्टर’ मधेश स् बाढीले बगायो दुई नम्बर प्रदेशको ठूलो एजेन्डा

मलङ्गवाकी ‘हट’ उम्मेदवार राधा मौसी स् ठूला दललाई ठूलै थ्रेट

अब्दुलको परिवार उपेन्द्र यादवको संघीय समाजवादी फोरम, नेपालसँग सरोकार राख्दो रहेछ । अचम्म यस्तो देखियो कि मङ्लगवा नगरपालिकामा फोरम नेपालले मेयरमा उम्मेद्वारी दिएको छैन् । तर, उम्मेद्वार हुन चाहेको परिवार इच्छा भएर पनि लड्न पाएको छैन । तर, यो परिवार अहिले सक्रिय राजनीतिमा छैन ।

अब्दुल र रौशनका अनुसार उनको छोराले ज्यान गुमाएको वर्ष फोरमका नेताहरु घरमा आएका थिए । त्यसपछि ती नेताहरु घरमा एक पटक पनि आएका छैनन् । दुःख सुखवारे केही सोधेका पनि छैनन् । नेताहरुको यस्तो रवैयाप्रति यो परिवार निकै दुःखी रहेछ । अब्दुलले भने, ‘चित्त दुखेपछि पार्टीको काम छाडेर बसेको छु ।’

चुनावनजिकै आएकाले उम्मेद्वारहरु घरदैलो कार्यक्रममा आफ्नो घर आउन सक्ने अब्दुल र रौशनको भनाई छ । तर, भोट माग्ने नेताहरुलाई के जवाफ दिने भन्ने उनीहरुसँग उत्तर तयार छ । ‘तपाईंहरुको राजनीति देखेर मलाई दुःख लाग्यो । हाम्रो परिवार यसप्रति धेरै दुखी छ । तपाईं आउनु भयो यहाँलाई स्वागत गरेँ । तर, हाम्रो घरमा भोटको कुरा गर्दै नगर्नुहोस् ।’ शहीदका बुबा अब्दुलले भोट माग्न आउने नेतालाई दिन तयार पारेको जवाफ हो यो ।
आमको भनाई थियो, ‘भोट हाल्ने मनै छैन ।’

 

उनको घर चारैतिर करिब एक सय मिटरको आसपास मेयरका तीन र उपमेयरका एक उम्मेद्वार छन् । तर, उनीहरु पनि यो शहीद परिवारको घरमा पुगेका छैनन् । उनको घरको नजिकै राजपाका मेयर र उपमेयरका उम्मेद्वार छन् । एमालेका मेयर र उपमेयर पनि उनको घरबाट बिल्कुलै नजिक छन् । हामीले शहीदको घर नजिकै रहेका एमालेका मेयरका उम्मेद्वार भेट्यौँ, उनले मधेश आन्दोलनको कुरा पनि गरेनन् । शहीदको कुरा त टाढाको विषय भयो । राजपाका मेयरका उम्मेद्वारले पनि शहीदका विषय केही शब्द खर्चेनन् ।

शहीदकी आमा रौशनले आफ्नो छोराको रगतसँग नेताहरु पद र सुविधा साटेको आरोप लगाइन् । ‘छोराको रगत बगेर नेताहरुले अधिकार पाए । पद पाए । अवसर पाए । हामीलाई भुले,’ उनले भनिन्, ‘मेरो छोराल जे गर्यो ठीक गर्यो ।’ उनले पहिलो मधेश आन्दोलनपछि भएका अरु आन्दोलनको औचित्यमाथि भने प्रश्न उठाइन् ।

मधेश आन्दोलनका शहीदलाई सरकारले १० लाख रुपैयाँ राहत दिएको थियो । यो परिवारले पनि राहत पाएको छ । जब हामीले यो रकम कहाँ खर्च गर्नुभयो भनेर प्रश्न गर्यौँ, आशिकका बुवा र आमाले पालैपालो जवाफ दिए । बुवाको जवाफ थियो, ‘जग्गा किन्यौँ । घर बनायौँ ।’

बुवाले सिधा जवाफ दिएपनि आमाले भावनात्मक कुरा गरिन् । ‘मेरो छोरा मरेको ११ बर्ष भयो । उ जिउँदो भएको भए दश लाख होइन धेरै पैसा कमाउँथ्यो । पैसासँग छोराको तुलना हुनै सक्दैन ।’

यो शिक्षित परिवार रहेछ । छोरा, छोरी वा बुहारीको नोकरीका लागि परिवारले धेरे पहल गरेको रहेछ । तर, नेताहरुले यसमा ध्यानै नदिएको उनीहरुको गुनासो छ । ‘पचासौँ पटक काठमाडौं गएर नेता भेटेँ, तर काम दिएनन्, आश्वसन मात्र दिए,’ अब्दुलले गुनासो गरे, ‘अब त थाकियो नै ।’ आमा रौशनले नामै लिएर भनिन्, ‘उपेन्द्रले हामीप्रति ध्यानै दिएनन् ।’

अहिले यो परिवारको आर्थिक अवस्था राम्रो भएको छ । अब्दुलका दुई छोरा वैदेशिक रोजगारी गरेर फर्केका छन् । एक छोरा चाही बोल्न सक्दैनन् । बुवा आमासँगै घरमा बस्छन् ।
सर्लाहीमा २० स्थानीय तह, २ सय वडा, ३१८ मतदानस्थल, ५०१ मतदान केन्द्र र ३ लाख ६६ हजार ६ सय मतदाता छन् । यो मतदाताको सूचीमा शहीद आशिकको परिवारका सदस्यको पनि नाम छ ।

अब्दुलले अहिले चलाउने मोबाइल नम्वर यस्तो छ जसले शहीद आशिकको विरासत बोकेको छ । आशिकले रातभर लाइन बसेर ऊ नम्बर ल्याएका रहेछन् । नम्बर ल्याएको केही समयपछि उनको मृत्यु भएको रहेछ । त्यहीँ नम्वर शहीद आशिकका बुवाले चलाइरहेका छन् । आन्दोलनका क्रममा छातीमा गोली लागेपछि आशिकको घटनास्थलमै मृत्यु भएको थियो ।

शहीद आशिकको परिवारमा जस्तै रौतहटमा हामीले अर्को शहीद परिवार भेट्यौँ, जसलाई चुनावसँग कुनै सरोकार थिएन । रौतहटको राजपुर नगरपालिका–७ बलुवामा भेटिए, शहीद शेख महीरुद्दिन ओस्ता । तेस्रो चरणको स्थानीय तहको चुनाव अन्तर्गत असोज २ गतेको मतदान हुन एक साता पनि बाँकी छैन । तर, शहीद शेख महीरुद्दिन ओस्ताका ४५ बर्षीया पत्नी समिना खातुन अभैm चुनावमा भोट हाल्ने वा नहाल्ने भन्ने निश्कर्षमा पुगेकी छैनन् ।

हालैको बाढीमा डुवान भोगेको बलुवा पुग्न हामीलाई निकै गाह्रो भयो । बाढीले डुबाएको घरको बाहिर बसेकी समिनाको अनुहार मलिनो थियो । उनी मैथली भाषा मात्र बुझ्न सक्थिन् । ‘चुनाव लागेको छ भोट माग्न आउनेलाई के भन्नुहुन्छ रु’ हामीले प्रश्न गर्यौँ । समिनाले भनिन्, ‘हाम्रो मान्छे मरेको छ । दुःख पाएका छौँ । दुःखमा आउनु भएन । अहिले भोट माग्न आउनुभएको छ । यही जवाफ दिन्छु ।’ उनले भोट हाल्ने विषयमा केही मन नबनाएको पनि खुलाइन् । ‘म भोट हाल्न जाने वा नजाने अहिले केही सोचेकी छैन । भोट हाल्ने दिन हेरौँला । मन लागे जान्छु, नलागे जान्न ।’ समिनाले असोज २ गतेको चुनावबारे आफ्नो कुरा राखिन् ।

 

तर, उनको घरमा राजपाका एक उम्मेदवार आएर आफै चुनावी पोस्टर टाँगेर हिँडेका छन् । यो परिवारले हटाउन सकेको छैन । यसमा पनि शहीद शेख महीरुद्दिनकी ७० बर्षकी आमाआरवुन खातुनले कारण खोलाइन् । ‘गाउँको मुखिया चुन्न भोट हाल्ने हो । दुःख पर्दा सहयोग गर्छन् भन्ने आशा छ ।’

आमा आरबुन एकपछि अर्को प्रश्नको जवाफ दिन अगाडि सरेकी हुन्थिन् तर पत्नी समिना चाहीँ बोल्न धेरै कठिन मानिरहेकी थिइन् । समिनाका अनुसार घरमा दुःख–सुखका कुरा गर्न र भोट माग्न कोही उम्मेदवार आएका छैनन् । शेख महीरुद्दिन ओस्ताको घर जहाँ छ, त्यसकै नजिकै राजपा र नयाँ शक्तिका उपमेयरका उम्मेदवारको घर छ । काँग्रेस, एमाले, माओवादी र फोरमका मेयरका उम्मेदवार पनि शहीद शेख महीरुद्दिन ओस्ताको घरबाट नजिकै छ ।

 

यो परिवार आर्थिक अवस्थामा निकै कमजोर रहेछ । शहीद शेख महीरुद्दिन ओस्ताका चार भाई रहेछन् । अब तीन भाई बाँकी छन् । सबै यही घरमा सानो सानो कोठामा अलग अलग बसेका छन् । यो वर्ष तराईमा आएको डुवानले उनीहरुको घर पनि डुब्यो । एक महिना बाहिरै बसे ।

शेख महीरुद्दिन ओस्ताका ६ सन्तान छन् । जेठी छोरीको विवाह भएको छ । कान्छी छोरी अहिले ६ बर्षकी भएकी छिन् । आमाको काखमा बस्दा बेला बेला बाबा खोज्छिन्, तर आमासँग जवाफ हुँदैन । यसबाहेक शेख महीरुद्दिन ओस्ताका दुई छोरा १८ वर्षका जावेद र १६ बर्षका अवेद पढाई छाडेर मुम्बई गएका थिए । बुवाको ४० दिनको काम सकेर मुम्बई गएका उनीहरु बकरइद मनाउन आएका थिए । मुम्बई जानुको पनि कारण छ । साहुसँग यो परिवारले एक लाख ३० हजार ऋण लिएको थियो । त्यहीँ ऋण चुक्ता गर्न साहुले शेख महीरुद्दिन ओस्ताका दुई छोरा मुम्बई लगेर काममा लगाएका थिए । ऋण अझै बाँकी रहेकाले जावेद र अवेद केही दिनपछि फेरि मुम्बई जाँदैछन् । मुम्बईबाट घर फर्केका जावेद र अवेदलाई पनि चुनावसँग कुनै सरोकार छैन । यसबाहेक १० बर्षका साहिद र १३ बर्षका जहिद आमासँगै बस्छन् । उनीहरु पढ्न जान पाएका छैनन् । यसमा शहीद परिवारले गरिवीको कारण देखाएको छ ।

शेख महीरुद्दिन ओस्ताकालाई आन्दोलनका क्रममा गोली लागेको थियो । पाँच महिना उपचारमा बित्यो । अन्त्यिमा उनको मृत्यु भयो । शेख महीरुद्दिन ओस्ताका तेस्रो मधेश आन्दोलनका शहीद हुन् ।

राज्यले शेख महीरुद्दिन ओस्ताकालाई शहीद घोषणा गरेपछि परिवारले दश लाख पाएको थियो । त्यसमध्ये दश धुर जग्गा खरिद रघरायसी काममा ८ लाख सकियो । २ लाख कान्छी छोरीको विवाहका लागि आमा समिना खातुनले बैंकमा राखेकी छिन् । अहिले दैनिक खर्चको पनि जोहो गर्न कठिन छ । जग्गा नभएकाले कमाएर खाने मेसो पनि छैन ।

मधेशी दल आन्दोलनका मृतकलाई शहीद घोषणा गर्न माग गर्दै आएका छन् । र, धेरै जसो शहीद घोषणा भएर राहत पनि पाएका छन् । तत्कालीन मधेशी मोर्चाले सप्तरीको २०७२ भदौ ७ को वैठकबाट मधेश आन्दोलनमा शहादत गर्नेलाई ५० लाख दिने घोषणा गरेको थियो । यो घोषणा पनि शहीदको संख्या बढाउन जिम्मेवार देखियो । मोर्चाको यहीँ निर्णयको दुई सातापछि शेख महीरुद्दिन ओस्तालाई गोली लागेको थियो । त्यसको पाँच महिना पछि उनको मृत्यु भएको थियोे ।

मधेश आन्दोलनमा मारिएका सबैलाई राज्यले विभिन्न चरणमा शहीद घोषणा गरेको छ । यहीँ निर्णयपछि मोर्चा चुनावमा जान तयार भएको हो । नेता चुनावका लागि तयार भएपनि शहीद परिवार चाहीँ टाढै बसेका छन् ।

मधेशका तीन आन्दोलनमा एक सय भन्दा बढी शहीद भएका छन् । मधेशवादी दलहरुले काठमाडौंमा यी शहीदका विषयमा खुबै कुरा गर्छन् । तर, शहीद घरमा पुग्दा नेताले आफ्नो स्वार्थका लागि यस्तो गरेका हुन् कि भन्ने प्रश्न उठाउन सकिने रहेछ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्