अरब सागरमा विकसित भएको एउटा शक्तिशाली समुद्री आँधीले बिहीवार पश्चिम भारतको तटीय क्षेत्रमा प्रहार गर्ने अनुमान गरिएको छ।
‘वायु’ नाम दिइएको उक्त आँधीको मार्गमा नेपाल नपरे पनि त्यसका कारण केही अप्रत्यक्ष मौसमी प्रभाव नेपालमा पर्न सक्ने मौसमविद्हरूले बताएका छन् ।
उक्त समुद्री आँधी विकसित भएकाले मनसुन पछि धकेलिएको मौसम पूर्वानुमान महाशाखामा कार्यरत मौसमविद् वरुण पौडेलले बताएका छन् ।
भारतीय अधिकारीहरूका अनुसार आँधीको प्रत्यक्ष प्रभावबाट जोगाउन गुजरातको तटीय क्षेत्रबाट झन्डै तीन लाख मानिसलाई सुरक्षित स्थानतिर सारिएको छ ।
कसरी मनसुन पर धकेलियो ?
नेपालमा प्रायस् जुन १० देखि मनसुनी वर्षा सुरु हुन्छ।
त्यसका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त बादल प्रवेश गर्नुपर्छ।
तर अरब सागरमा केही दिनअघि बन्न थालेको आँधीले यसपालि पूरै भारतीय उपमहाद्वीपको मनसुनी प्रक्रियालाई बिथोलिदिएको मौसमविद्हरूले बताएका छन् ।
मौसमविद् पौडेल भन्छन्, ‘अरब सागरमा आँधी बन्न थाल्दा जलवाष्प पनि त्यतै केन्द्रित भयो ।’
अर्थात् बङ्गालको खाडीतिर मनसुनको बादल राम्ररी विकसित हुन सकेन र वर्षा सुरु हुन ढिलो हुने भयो।
मौसमविद्हरूका अनुसार समुद्री आँधी ‘वायुु ‘ को प्रभाव सकिएपछि मात्र फेरि मनसुनी प्रक्रिया सुरु हुनेछ ।
हिजोआज भइरहेको वर्षा चाहिँ ‘प्रिमनसुन’ गतिविधिका कारण स्थानीय रूपमा भएको हो ।
नेपालमा कस्तो प्रभाव पर्ला ?
नेपालमा मनसुन ढिलो हुँदा आकाशेखेती हुने ठाउँमा रोपाइँ गर्न ढिलो हुनेछ ।
त्यसबाट कृषि उत्पादनमा पनि प्रभाव पर्न सक्छ ।
बिहीवार बिहान भारतको गुजरात राज्यको तटीय क्षेत्रनजिकै आइपुगेको आँधी भूमिमा बज्रिएपछि उत्तर(पश्चिमोत्तर दिशातिर जाने पूर्वानुमान भारतको मौसम विभागको छ ।
पूर्वानुमानित मार्गमै आँधी हिँडे नेपालमा खासै प्रभाव पर्दैन ।
तर त्यसले दिशा परिवर्तन गर्यो भने फेरि विश्लेषण गर्नुपर्ने पौडेल बताउँछन् ।
तर प्रत्यक्ष असर नपरे पनि सो समुद्री आँधीको बाहिरी बादल नेपाली आकाशमा पनि आइपुग्ने हुँदा नेपालको पश्चिमी क्षेत्रमा केही असर देखा पर्नेछ ।
पौडेल भन्छन्, ‘नेपालमा समुद्री आँधी वायुको केही प्रभाव आज र पर्सि देखिनेछ। तर भोलि भने छैन ।’
यार्सागुम्बा टिप्ने ठाउँमा के होला ?
‘वायु’को बाहिरी बादलका कारण सुदूरपश्चिममा सामान्य बदली र हल्का वर्ष हुन सक्ने तथा उच्च हिमाली भेगमा पनि हल्का हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।
यतिखेर सुदूरपश्चिम र पश्चिम नेपालका हिमाली भेगमा सयौँको सङ्ख्यामा मानिसहरू यार्सागुम्बा टिप्न भेला भएका छन्। तिनमा बालबालिका पनि छन् ।
हिमपातको सम्भावना भएकाले यार्सागुम्बा सङ्कलन गर्न गएका मानिसहरू सतर्क हुनुपर्ने देखिन्छ।
पौडेल भन्छन्, ‘समयमै ओर्लिएर शनिवारसम्म सुरक्षित बस्दा राम्रो हुन्छ ।’
गत मे महिनाको पहिलो हप्ता बङ्गालको खाडीमा बनेको समुद्री आँधी फणीको आंशिक प्रभाव नेपालमा पनि देखिएको थियो ।
फणी र पश्चिमी वायुको असरका कारण हिमाली क्षेत्रमा हावाहुरी चलेको तथा हिमपात भएको थियो ।
सगरमाथा क्षेत्रमा हावाहुरीका कारण केही दिन पर्वतारोहणको काम स्थगित भएको थियो ।
सन् २०१४ मा समुद्री आँधी हुदहुदका कारण नेपालको हिमाली क्षेत्रमा ठूलो हिमपात भएको थियो।
हिमपात तथा हिमपहिरोका कारण कम्तीमा तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको थियो । बीबीसी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।