टेकराज भण्डारी।
अछाम । नेकपाले अछाममा आयोजना गरेको आमसभामा विभिन्न पार्टी परित्याग गरी १ सय ५७ जना नेकपामा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेस, विप्लब माओवादी, राप्रपा लगायतका पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका नेकपा अछामका जिल्ला कमिटी सदस्य नमराज न्यौपानेले जानकारी दिए ।
विप्लब माओवादीका शिक्षक संगठनका जिल्ला अध्यक्ष मान बहादुर बयक विप्लब माओवादी परित्याग गरी नेकपामा प्रवेश गरेका छन् ।
नव प्रवेशीलाई एमाले स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीम रावलले टीका तथा माला लगाएर स्वागत गर्दै प्रतिबद्धताका साथ पार्टीमा लाग्न आग्रह गरे ।
आमसभामा बोल्दै नेकपा स्थायी कमिटी सदस्य भीम रावलले अहिले अधिनायकबादको गीत गाउँने नेपाली कांग्रेसले एक पटक आफ्नो अनुहार ऐनामा हेर्न सुझाव दिए ।
आइतबार अछामको तुर्माखाँद गाउँपालिकामा आयोजित पार्टीको बृहत आमसभामा प्रमुख अतिथिको आशनबाट बोल्दै स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम इन्चार्ज रावलले नेपाली कांग्रेसले बिगतमा जे गर्छु भनेको थियो, त्यसको विपरित गरेकोले देश विकास हुन नसकेको आरोप समेत लगाए ।
‘नेपाली कांग्रेस भ्रमको खेती गरीरहेको छ । विगतमा दशौँ वर्ष सरकारका रहँदा कांग्रेसले केही गरेन” नेता रावलले भने, ‘अहिले अधिनायकबाद भन्दै अरुले गरेको राम्रा कामलाई समेत कुप्रचार गरीरहेको छ ।’
नेता रावलले कसैलाई पनि नेपाली कांग्रेसको भ्रममा नपर्न आग्रह गर्दै नेपाली कांग्रेसले नेतृत्व गरेका स्थानीय तहमा के कस्तो विधिको शाशन र सुशाशन कायम भैरहेको छ, भन्ने बारेमा आफूहरुले गहिरो अध्ययन र नजिकबाट नियाली रहेको बताए ।
सामाजिक सुरक्षा भत्ता नबढाएको भन्दै गत वर्षभरी गीत गाउने कांग्रेसको अब मुख बन्द भएको र सामाजिक सुरक्षा भत्ता सरकारले बढाएको बताए ।
नेता रावलले पार्टीको नीति, पद्धति तथा राष्ट्रिय स्वाभिमान उचो रहने गरी काम गर्न सबै कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीलाई आँच आउने तथा क्षणिक स्वार्थका कुनै पनि कार्यमा नेकपाका कार्यकर्ता संलग्न भएमा त्यो सह्य नहुने भन्दै नेता रावलले अरुले गरेका गलत काम तथा अनियमितताको भण्डाफोर गर्न समेत आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० केन्द्रीय सदस्य शरदसिंह भण्डारीले कम्युनिष्ट सरकारले देश बनाईछाड्ने दाबी गरे ।
अहिले सरकारले देशलाई आवश्यक पर्ने दीर्घकालिन महत्वका काम गरीरहेको भन्दै नेपाली कांग्रेसले भने जस्तो अधिनायकवाद नेपाली कांग्रेसकै शासनकालमा रहेको टिप्पणी गरे ।
नेकपा जिल्ला कमिटी अध्यक्ष शेर बहादुर कुँवरले अब नेकपा गाउँ गाउँ गएर जनता जगाउने र कार्यकर्ता क्रियाशील गर्ने अभियानमा जुटेको बताए ।
नेकपा जिल्ला कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य यज्ञ बोगटीले अब नेकपाका बाँकी रहेका सबै एकता प्रक्रियाका काम सकेर मजबुद संगठनका रुपमा क्रियाशील हुने बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।