काठमाडौ ।संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरुले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिए । सांसद उमाशङ्कर अरगरिया, कलिला खातुन, गङ्गा चौधरी सत्गौवा, चाँदतारा कुमारी, चन्द्रकान्त चौधरीलगायतले यस्तो माग गरेका हुन् ।
सांसद खगराज अधिकारी र खेमप्रसाद लोहनीले गुठी विधेयक बाहिर चर्चा गरिएजस्तो धर्म र संस्कृति विरोधी नभएको बताए । सांसद गणेशकुमारी पहाडीले सिन्धुलीको कमलामाईलगायत स्थानमा हात्तीले धनजनको क्षति प¥याएकाले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।
सांसद गौरीशङ्कर चौधरीले नदीबाट गिट्टी बालुवा पूर्णरुपमा निषेध गरिँदा विकास निर्माणमा असर परेको बताए । अर्का सांसद घनश्याम खतिवडाले उत्खनन गरिसकेका खोलामा अब ठेक्का नलगाउने व्यवस्था मिलाउन र मापदण्ड तोकेर मात्र नदीको उत्खनन गरिनुपर्नेमा जोड दिए । सांसद जुलीकुमारी महतोले गुठी विधेयकले धर्म र संस्कृतिलाई सभ्य बनाउन खोजेको बताए । जनकपुरको गुठीमा धेरै अव्यवस्था रहेकाले त्यसको व्यवस्थापन गर्न यो विधेयक ल्याइएको उनको भनाइ थियोे ।
दुई प्रतिवेदन पेश
प्रतिनिधिसभाको आजको बैठकमा “अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६” र “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६” पेश गरिएको छ ।
“अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन, २०७६” अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला खरेलले र “महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन,२०७६” महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पेश गरेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।