समाचार

सामाजिक सुरक्षा भत्ता सिधै स्थानीय तहमा

By थाहा अनलाइन

September 13, 2017

सैघाली खबर, काठमाण्डौ २८ भदौ। सरकारले चालु आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ताको रकम ७५३ वटै स्थानीय तहबाट वितरण गर्ने भएको छ ।

यसअघि जिल्ला विकास समितिमार्फत स्थानीय तहमा जाने भएता पनि यस आवबाट सिधै स्थानीय तहमा सुरक्षा भत्ता पठाइने केन्द्रीय पञ्जीकरण विभागका महानिर्देशक अनिलकुमार ठाकुरले बताउनुभयो ।

उहाँले स्थानीय तह नै स्थानीय सरकार भएकाले ती निकायमा सिधै सुरक्षा भत्ताको रकम पठाइने जानकारी दिनुभयो । विभागले स्थानीय तहबाट सुरक्षा भत्ता पाउनेको विवरण प्राप्त हुनसाथ रकम पठाउने तयारी गरेको छ । अहिले सो भत्ता पाउनेको विवरण स्थानीय तहमा संकलन भइरहेको छ ।

यस आव सामाजिक सुरक्षा भत्ताका लागि करिब रु ३६ अर्ब विनियोजन भइसकेको छ । गत आवमा २२ लाख ५५ हजार व्यक्तिलाई करिब रु ३५ अर्ब ४६ करोड वितरण गरिएको महानिर्देशक ठाकुरले बताउनुभयो ।

विभागले वर्षेनी तीन÷तीन महिनामा ज्येष्ठ नागरिक, बिधवा, अपांग, दलित, लोपोन्मुख र अति गरिबीको सुचांकमा परेका जिल्लाका बालबालिकालाई सो भत्ता वितरण गर्दै आएको छ । उक्त भत्ता पाउनेको नाममा दोहोरोपना आउन नदिन र भत्ता वितरणमा पारदर्शिता अपनाउनका लागि विभागले भत्ता पाउनेको नामवली अनलाइनमा राख्ने गरेकामा अहिलेसम्म १७ लाख ५० हजार व्यक्तिको नाम अनलाइनमा राखिएको महानिर्देशक ठाकुरले बताउनुभयो ।