मासुजन्य उत्पादनमा आत्मनिर्भर बन्दै



सैघाली खबर,
रोल्पा २८ भदौ। मासुजन्य उत्पादनमा रोल्पा आत्मनिर्भर भएको छ । तर दूध र अण्डा उत्पादन भने अपुग देखिएको छ ।
जिल्ला पशु सेवा कार्यालयका अनुसार वर्षेनी ३३ लाख १७ हजार किलो मासु उत्पादन हुँदै आएको छ । औसत राष्ट्रिय आवश्यकता अनुसार प्रतिव्यक्ति १४ किलो मासु आवश्यकता पर्नेमा जिल्लामा औसत १५ किलो मासु उत्पादन भइरहेको छ ।

कुखुरा, राँगा, बंगुर र खसीबाट उत्पादित मासु जिल्लामा खपत भई बढी भएको जिल्लाबाहिर पठाउने गरिएको वरिष्ठ पशु विकास अधिकृत डा गान्धीराज उपाध्यायले जानकारी दिए । पशुजन्य उत्पादनअन्तर्गत दूध र अण्डामा भने अझै अपुग हुँदै आएको छ ।

जिल्लामा वर्षेनी ४९ लाख ३३ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । औसत राष्ट्रिय आवश्यकताअनुसार प्रतिव्यक्ति ९१ लिटर दूध आवश्यकता पर्ने भए पनि जिल्लामा औसत प्रतिव्यक्ति २१ लिटर दूध मात्रै उपलब्ध हुँदै आएको छ । व्यावसासिक रुपमा गाई तथा भैँसीपालन कम भएको डा उपाध्यायले बताए ।

यसैगरी अण्डा उत्पादन जिल्लाको आवश्यकताभन्दा कम देखिएको छ । औसत राष्ट्रिय आवश्यकता अनुसार व्यक्ति व्यक्ति ४८ वटा अण्डा आवश्यक पर्छ । तर हाल जिल्लामा १४ वटा अण्डा मात्रै उपलब्ध हँुदै आएको छ । कुखुरापालन गर्नेको सङ्ख्या बढे पनि अण्डाका लागि कुखुरा पाल्ने निकै कम भएकाले अण्डा उत्पादनमा कमी आएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्