घोराही १३ मा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन



निमु सगमं घर्ती,
घोराही, २८ भदौ।
घोराही उपमहानगरपालिका वडा नम्बर १३ कलमघारीमा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । यस अघि कलमघारी विद्यालयको कोठाबाट सेवा दिदै आएको केन्द्रले बुधबारबाट आफ्नै भवन मार्फत सेवा दिने गरि उपमहानगर प्रमुख नरुलाल चौधरीले उद्घाटन गर्नुभएको छ ।

करिब १२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको स्वास्थ्य क्लिनिकको मेयर चौधरीले रिवन काटेर र पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको छ । भवन निर्माण समितिका अध्यक्ष मिनु गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै मेयर चौधरीले सिमित स्रोत साधनका बाबजुत पनि गुणस्तरीय सेवा प्रबाह गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

त्यस भेगका नागरिकहरुको स्वास्थ्य उपचारमा भ्याए सम्मको स्रोत साधन प्रयोग गरेर सेवा दिन आग्रह गर्नुभएको छ । स्वास्थ्य प्रति सबै नागरिकहरु सचेत र सजग हुनुपर्नेमा जोड दिदै मेयर चौधरीले सेवा सुबिधालाई विस्तारै बृद्धी गर्ने समेत बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्ती, जिल्ला समन्वय समितिका सदस्य तिलाकुमारी बुढा, वडा सदस्यहरु केशब गिरी, पवित्रा सेर्पाईली, जनस्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत मदन पोख्रेल, नगर स्वास्थ्य केन्द्र भ्युडरका अनमी कबिता शर्मा लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रमको सहजिकरण निर्माण समितिका सचिब अमृत रोकाले गर्नुभएको थियो । घोराही उपमहानगर, जनस्वास्थ्य र स्थानियहरुको रकमबाट सो क्लिनिक भवनको निर्माण गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्